मधेशमा बलियो जनाधार भएका नेतालाई एमालेमा भित्र्याउँदै ओली

काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आउँदो निर्वाचनका लागि मधेश केन्द्रित भएका छन्। उनी धमाधम मधेश प्रदेशका प्रभावशाली नेताहरूलाई पार्टीमा भित्र्याइरहेका छन्। उनको टार्गेटमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनता समाजवादी पार्टी (जसपा) का बलियो जनाधार भएका नेताहरू छन्।
शनिबार ओली जनकपुर पुगे। रेल चढे। शहीद रामनारायण मण्डलको परिवारसँग भेटे। मधेशको मत जित्न कार्यक्रमस्थलमा एकछिन भुईँमै बसे। पछि स्टेजमा पुग्दा पनि तीन सय किलोको मालाले उनको स्वागत भयो।
हुन त यसअघि कांग्रेसका युवा नेता सन्तोष यादवलगायतका नेतालाई पार्टीमा भित्र्याउन भदौ २७ गते पनि ओली जनकपुर पुगेका थिए।१८ दिनपछि पुनः धनुषा- २ का निवर्तमान सांसद उमाशंकर अरगरियालाई जनकपुर पुगेर उनले एमालेमा ल्याए।
महन्थ ठाकुर नेतृत्त्वको लोसपाका पूर्वमन्त्री तथा प्रमुख सचेतक अरगरिया करिब चार हजार समर्थकसहित एमाले प्रवेश गरेको बताइएको छ।
विदेह नगरपालिकास्थित तीनकोरिया चोकमा आयोजित पार्टी प्रवेश कार्यक्रमबाटै जसपाकी निवर्तमान सांसद अमृता अग्रहरी र रुही नाज पनि एमाले प्रवेश गरे। जसपाकै निवर्तमान प्रदेश सभा सदस्य अञ्जुकुमारी यादव पनि सोही कार्यक्रमबाट एमाले प्रवेश गरिन्।
यसअघि मधेश प्रदेशका निवर्तमान सांसद प्रल्हाद गिरी, रीना यादवसहित हृदयेश त्रिपाठीको समूहका वृजेशकुमार गुप्ता एमाले प्रवेश गरिसकेका छन्।
एमालेका नेताहरूका अनुसार मधेशवादी दलबाट एमाले प्रवेश गर्नेहरू आउँदो दिनमा अझै थपिनेछन्।
असोज ९, २०७९ आइतबार ०७:३४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।