सिके राउतको जनमत पार्टीले विजयादशमीमा नागरिकता अधिकार खोस्नेहरूको पुत्ला दहन गर्ने

काठमाडौं: सिके राउत नेतृत्त्वको जनमत पार्टीले चरणबद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेको छ। राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेर लाखौँ जनतालाई नागरिकताको अधिकारबाट बञ्चित गरेको र सत्ता गठबन्धनले हालसम्म पनि किसान आन्दोलनको माग सम्बोधन नगरेको भन्दै जनमत पार्टी चरणबद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेको हो।
पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले विभिन्न आन्दोलनका कार्यक्रम घोषणा गरेको हो। पार्टीका राष्ट्रिय अध्यक्ष सिके राउतले आज एक विज्ञप्ति जारी गरी यसबारे जानकारी गराएका हुन्।
आन्दोलन कार्यक्रमअनुसार आइतबार र सोमबार नागरिकता अधिकार खोसेको बारे वडास्तरमा माइकिङ गरिने छ। ११ गते मङ्गलबारदेखि १८ गते मङ्गलबारसम्म वडास्तरमा बिहान/दिउँसो किसान आन्दोलन र नागरिकता विधेयकबारे अन्तरक्रिया कार्यक्रम हुने भएको छ। यस्तै यस अवधिमा टोल-टोलमा र्याली गर्दै स्थानीय चोक-चोकमा विरोध प्रदर्शन र कोणसभा हुनेछ।
१९ गते विजयादशमीका दिन जनमत पार्टीले 'किसान आन्दोलनको माग सम्बोधन नगर्ने र नागरिकताको अधिकार खोस्नेहरूको रावणरूपी पुत्ला दहन' गर्ने कार्यक्रम तय गरेको छ।
असोज ८, २०७९ शनिबार १२:०५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।