मेचीनगरमा दुईटा मोटरसाइकल जुध्दा दुवै चालकको मृत्यु, एक जना घाइते

मेचीनगरमा दुईटा मोटरसाइकल जुध्दा दुवै चालकको मृत्यु, एक जना घाइते

झापा: मेचीनगर नगरपालिकामा शुक्रबार राति दुईटा मोटरसाइकल एकापसमा जुध्दा दुई जनाको मृत्यु भएको छ। उक्त दुर्घटनामा परी एक जना घाइते भएका छन्। 

मेची राजमार्गअन्तर्गत मेचीनगर–१२ स्थित पिपलडाँगीमा शुक्रबार राति ११ः२५ बजे उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्र१–०१–०१४प ३३५० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँँदै गरेको प्र१–०१–०१४प २६७८ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाँँदा दुवै चालकको मृत्यु भएको झापा जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

दुर्घटनामा परी सख्त घाइते भएका ३३५० नम्बरको मोटरसाइकल चालक कनकाई–४ का ३८ वर्षीय कृष्णप्रसाद सिग्देल र २६७८ नम्बरका मोटरसाइकल चालक अर्जुनधारा–४ का ४५ वर्षीय विष्णु थापाको उपचारका क्रममा विर्तामोडस्थित बीएण्डसी अस्पतालमा गए राति १ः३५ बजे मृत्यु भएको हो।

उक्त दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार कनकाई–४ का ५३ वर्षीय रामबहादुर अधिकारीको टाउको, हात र खुट्टामा चोट लागेकाले उपचार भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

असोज ८, २०७९ शनिबार १०:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।