जनतालाई हेप्ने, थर्काउने नेता भएको ठाउँमा विकास हुँदैन: शहरी विकासमन्त्री चौधरी

जनतालाई हेप्ने, थर्काउने नेता भएको ठाउँमा विकास हुँदैन: शहरी विकासमन्त्री चौधरी

बारा: शहरी विकासमन्त्री मेटमणि चौधरीले नेता असल भए विकासका काम तीव्र हुने बताएका छन्। शुक्रबार जिल्लाका विभिन्न ५० करोडका सडक आयोजना शिलान्यास गर्ने क्रममा उनले यस्तो बताएका हुन्।

मन्त्री चौधरीले बाराको गढिमाई पार्क, गढिमाई चोकदेखि रसौला, बस्डिल्वा, इनर्वासिया बजार, सानो माटियरिया चिनी मिल हुँदै मानवत मटिअर्वा हुलाकी राजमार्ग जोड्ने सडकखण्ड, टेलिकम चोक– विकासशिल चोक –रंगशाला चोक –एयर्ट पोर्ट दक्षिण सिमानासम्म जोड्ने सडक निर्माणका आयोजना शुक्रबार शिलान्यास गरेका हुन्।

शिलान्यासपछि आयोजित कार्यक्रममा बोल्दै उनले असल नेता नभएका कारण बारा पछि परेको बताए। ‘जुन ठाउँका नेता असल, इमानदार र विकासप्रेमी हुन्छन् त्यहाँ तीव्र गतिमा विकास पुग्छ। तर जहाँ जनताको काममा ध्यान दिनेभन्दा पनि गफ ठूला गर्ने नेता हुन्छन्, जहाँ जनतालाई हेप्ने, थर्काउने नेता हुन्छन्, त्यहाँ विकास हुँदैन।’ 

कार्यक्रममा पूर्वमन्त्री किसान श्रेष्ठ समेत थिए। उनले अब बारामा विकास र सम्बृद्धिको मूल फुट्ने दावी गरे। बाराको विकासमा उनले जनताले चाहे जति बजेटको व्यवस्था गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।

कार्यक्रममा प्रदेश सभा सदस्य शोभा लामा, सुन्दर विक, एकबाल मियाँ, सीता गुरुङ, जितपुर सिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेल, उपप्रमुख भोलाप्रसाद अधिकारी लगायत विभिन्न दलका प्रतिनिधिहरूले आआफ्नो मन्तव्य राखेका थिए। 

असोज ८, २०७९ शनिबार ०८:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।