लौरो चिन्ह स्वतन्त्रहरूको नभएको प्रष्ट पार्दै निर्वाचन आयोगले सोध्यो स्पष्टिकरण

लौरो चिन्ह स्वतन्त्रहरूको नभएको प्रष्ट पार्दै निर्वाचन आयोगले सोध्यो स्पष्टिकरण

काठमाडौंः निर्वाचन आयोगले हाम्रो नेपाली पार्टीले लौरो चिन्हलाई स्वतन्त्रहरूको साझा अभियान भनेर जनतामा झुटा प्रचार गरिरहेको विषय प्रति पार्टी संयोजक अनन्तराज घिमिरेसँग स्पष्टिकरण माग गरेको छ।

हाम्रो नेपाली पार्टीको लौरो चुनाव चिन्ह आयोगको समानुपातिक सूचीमा दर्ता भएकोले उक्त लौरो चिन्ह स्वतन्त्रहरूको नभएको निर्वाचन आयोगले बताएको छ।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ र ९ का स्वतन्त्र उमेदवार विजय कँडेल र सुनिल रिजालले गत आइतबार हाम्रो नेपाली पार्टीको नाममा दर्ता भएको लौरो चुनाव चिन्हको सम्बन्धमा प्रष्ट पारिदिन निर्वाचन आयोगमा उजुरी दर्ता गरेका थिए।

उजुरीको आधारमा शुक्रबार आयोगले लौरो चुनाव चिन्ह स्वतन्त्रहरूको हो भनि झुटा प्रचारप्रसार गरिएको भन्दै हाम्रो नेपाल पार्टीको संयोजक अनन्तराज घिमिरेलाई स्पष्टिकरण दिन निर्वाचन आयोगमा उपस्थित हुनको लागि निर्देशन दिएको छ।

स्थानीय निर्वाचनमा निर्वाचन आयोगले लौरो चिन्ह स्वतन्त्र उम्मेदवारहरूलाई प्रदान गरेकोमा हाल सो चुनाव चिन्ह स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान स्वतन्त्रहरूको साझा चुनाव चिन्ह लौरो भनेर विभिन्न संचार माध्यम तथा सामाजिक संजालहरूमा आइरहेको छ।

लौरो चिन्ह निर्वाचन आयोगमा दर्ता रहेको हाम्रो नेपाली पार्टी नामक राजनीतिक दललाई प्रदान गरिएको आयोगले जनाएको छ।

स्वतन्त्रहरूको साझा तथा वैकल्पिक चिन्ह भनेर जनमानसमा भ्रम सिर्जना गर्ने कार्य भइरहेको भन्दै चिन्ह खारेजीको माग गर्दै काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ का स्वतन्त्र उमेदवार विजय कँडेल र काठमाडौं क्षेत्र नम्बर ९ का स्वतन्त्र उमेदवार सुनिल रिजालले निर्वाचन आयोगमा उजुरी दर्ता गरेका थिए।

‘हाम्रा नेपाल पाटी’ लौरो चिन्ह को संयोजक अनन्तराज घिमिरेलाई निर्वाचन आयोगले स्पष्टिकरण दिन सोधेका प्रश्नहरू:

१.प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७३ को दफा (६) र प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७३ को दफा (६) मा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ स्वतन्त्र उम्मेदवारलाई आयोगले निर्धारण गरेको प्रदान गरिएको निर्वाचन चिन्हको समूहबाट तोकिएको बमोजिमको तरिका अनुसार निर्वाचन अधिकृतले निर्वाचन चिन्ह प्रदान गर्नैछ भन्ने कानुनी व्यवस्था रहेकोमा तपाईको दललाई प्रदान गरिएको निर्वाचन चिन्ह लौरो तपाईं दलको अध्यक्ष अनन्तराज घिमिरे लगायतका व्यक्तिहरुले स्वतन्त्र उम्मेदवारको रुपमा प्रचार प्रसार गरेको देखिएकोले के कुन आधारमा स्वतन्त्र उम्मेदवारको चिन्ह हो भनी प्रचार प्रसार गर्नु भएको हो ?

२. तपाईको दल निर्वाचन आयोगमा निर्वाचन प्रयोजनका लागि दर्ता भई समानुपातिक निर्वाचन प्रणालीर्तफको बन्दसूची समेत पेश गरी निर्वाचन चिन्ह लौरो समेत प्रदान गरिसकिएकोमा लौरी चिन्ह स्वतन्त्रको हो र म स्वतन्त्र उम्मेदवार हु भनी के कुन आधारमा प्रचार प्रसार गर्नु भएको हो? त्यसरी स्वतन्त्र उम्मेदवार भनी प्रचार प्रसार गर्न मिल्ने हो होइन?

३. प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७३ को दफा (३) र प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७३ को दफा (३) मा आयोगले राजनीतिक दल वा उम्मेदवारलाई निर्धारण गरिएको निर्वाचन चिन्ह दलका उम्मेदवार वा दल बाहेक अरु कसैले पनि प्रयोग गर्न पाउने छैन भन्ने कानूनी व्यवस्था रहेकोमा लौरो चिन्ह स्वतन्त्र उम्मेदवारको चिन्ह हो भनी प्रचार प्रसार गर्ने अधिकार तपाई र तपाईको दललाई कुन कानूनले प्रदान गर्यो ?

४. दलको चिन्ह स्वतन्त्र उम्मेदवारको चिन्ह हो भनी प्रचार प्रसार गर्ने कार्य कानून विपरीत भई यस्ता भ्रामक कार्यले मतदाता र सर्वसाधरणमा अन्यौलता सिर्जना गरी स्वच्छ निर्वाचनमा प्रतिकूल प्रभाव पार्ने हुँदा तपाई र तपाईंको दललाई कारवाही किन नगर्ने?

असोज ७, २०७९ शुक्रबार १६:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।