१२ कक्षा उत्तीर्ण नहुनेलाई डिभी पर्दा नाै जना पक्राउ

१२ कक्षा उत्तीर्ण नहुनेलाई डिभी पर्दा नाै जना पक्राउ

काठमाडौंः काठमाडौंका विभिन्न स्थानबाट नक्कली शैक्षिक प्रमाणपत्र सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा पाँचथर मितलाजुन गाउँपालिका–६ घर भई झापा दमक नगरपालिका–५ बस्ने २५ वर्षीय समिर राई, कास्की पोखरा महानगरपालिका–१० घर भएका ४० वर्षीय अरूण कार्की, नुवाकोट बेलकोटगढी नगरपालिका–९ घर भई काठमाडौं टोखा नगरपालिका बानियाटार बस्ने २५ वर्षीया राधिका तामाङ रहेका छन्।

यस्तै, स्याङ्जा चापाकोट गाउँपालिका–२ घर भई काठमाडौं बसुन्धारा बस्ने ३८ वर्षीया सबिता श्रेष्ठ, झापा मेचीनगर नगरपालिका–६ घर भएका ४६ वर्षीय बिदुर प्याकुरेल, काठमाडौं कागेश्वरी नगरपालिका घर भएका २१ वर्षीय सुरज राज खत्री छन्।

त्यसैगरी, अछाम मंगलसेन नगरपालिका–१२ घर भएका २७ वर्षीय वीरेन्द्र बहादुर रावल, झापा विर्तामोड नगरपालिका(५ घर भएका ४० वर्षीय दिनेश प्रसाई र दमक नगरपालिका–८ घर भएका ४८ वर्षीय सूर्य बहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो।

नेपालस्थित अमेरिकन दुतावासमा  ईडीभी २०२१ को नतिजामा नाम निकालेका तर भिसा प्रक्रियाका लागि आवश्यक शैक्षिक योग्यता प्राप्त नगरेका केही व्यक्तिहरूले भिसा प्रयोजनको लागि १०ं२ को नक्कली एकेडेमिक ट्रान्सकिप्ट बनाई  पेश गरेको भन्ने सूचनाको आधारमा अमेरिकी दूतावाससँगको समन्वयमा उनीहरूलाई पक्राउ गरिएको हो।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उक्त नक्कली एकेडेमिक ट्रान्सकिप्ट सहित शैक्षिक प्रमाणपत्र बनाउने कार्यमा संलग्न दिनेश र सूर्य बहादुरलाई ईलाका प्रहरी कार्यालय दमक झापा र ईलाका प्रहरी कार्यालय अनारमनी झापाको समन्वयमा पक्राउ गरेको हो।

अमेरिका जानलाई कम्तीमा पनि १२ कक्षा उत्तीर्ण भएकाे हुनुपर्छ। उनीहरूलाई लिखत सम्बन्धि कसूरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौंमा पठाइएको छ।

असोज ७, २०७९ शुक्रबार १४:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।