जसपाले आइतबार मधेश प्रदेशका सबै जिल्ला सदरमुकाममा राष्ट्रपति भण्डारीको पुत्ला दहन गर्ने

काठमाडौं: जनता समाजवादी पार्टी नेपाल (जसपा)ले नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको घोर उल्लंघन गरेको ठहर गरेको छ। पार्टीको हिजो बसेको बैठकले राष्ट्रपतिको सो कदमविरुद्ध संघर्ष गर्ने निर्णय समेत गरेको छ।
जसअनुसार आज एक सूचना जारी गर्दै पार्टीका मधेश प्रदेश कमिटीका मुख्यसचिव दिनेशकुमार यादवले पहिलो चरणको आन्दोलनको कार्यक्रम सार्वजनिक गरेका छन्।
भोलि पार्टीले बुद्धिजीवी, नागरिक समाज, पत्रकार, कानून व्यवसायी लगायतसँग अन्तरक्रिया गर्नेछ। यस्तै आइतबार जिल्ला सदरमुकामहरूमा भ्रातृ संगठनहरूले विरोध प्रदर्शन गर्नेछन् भने राष्ट्रपतिको पुत्ला दहन गर्नेछन्।
यस्तै पार्टीले अध्यादेश र विधेयकको बारेमा पनि जानकारी गराउने कार्यक्रम सार्वजनिक गरेको छ। पहिलो चरणको आन्दोलनको अन्तिम कार्यक्रममा पालिका तथा वडास्तरीय भेला गरेर राष्ट्रपति भण्डारीले चालेको कदमबारे जानकारी गराउने यादवले सूचनामार्फत बताएका छन्।
असोज ७, २०७९ शुक्रबार १३:५०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।