साढे आठ तोला सुनका गरगहना चोर्ने दुई जना पक्राउ

काठमाडौं: प्रहरी वृत्त थानकोटको टोलीले सुनका गरगहना चोर्ने दुई जनालाई पक्राउ गरेको छ। चन्द्रागिरि नगरपालिका वडा नं १४ नैकापस्थित एक महिलाको घरबाट ८.५ तोला सुनका गरगहना चोर्ने २३ वर्षीय रविन्द्र रिमाल र चोरीका गहना किन्ने मच्छेगाउँका २९ वर्षीय सुजन सुनारलाई बिहीबार पक्राउ गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले घरमा रङ लगाउने व्यक्तिबाट सुनका गहना चोरी भएको अनुसन्धानमा खुलेको जानकारी दिए।
पक्राउ परेकासँग प्रहरीले सुनका झुम्का दुई थान, सुनको बाला दुई थान, सुनको ब्रासलेट एक थान, सुर र पित्तलसहितको चन्द्रमा एक थान र नगद रु ६० हजार बरामद गरेको छ।
प्रवक्ता मैनालीले पक्राउ परेका दुवै जनालाई मुलुकी फौजदारी अपराधसंहिता ऐन, २०७४ को डाका तथा चोरी कसूरमा काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी प्रहरी वृत्त थानकोटबाट अनुसन्धान गरिरहेको बताए।
असोज ७, २०७९ शुक्रबार १३:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।