राप्रपाको केन्द्रीय निर्वाचन परिचालन समितिमा चन्द, जबरादेखि लोहनीसम्म

काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आउँदो मङ्सिर ४ गतेको निर्वाचनलाई मध्यनजर गर्दै केन्द्रीय निर्वाचन परिचालन समितिलाई पूर्णता दिएको छ। समिति पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्त्वमा गठन गरिएको छ।
समितिमा पार्टीका पूर्वअध्यक्ष लोकेन्द्रबहादुर चन्द, पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी समेत रहेका छन्। यस्तै कार्यसम्पादन समितिका सदस्य, पदाधिकारी, सात प्रदेशका अध्यक्ष, केन्द्रीय सदस्य तथा विभागीय प्रमुखहरूलाई समावेश गरिएको नेता सुन्दर पाण्डेले जानकारी दिए।
यस्तै प्रदेश अध्यक्षको संयोजकत्वमा प्रदेश निर्वाचन परिचालन समिति र जिल्ला अध्यक्षको संयोजकत्वमा जिल्ला निर्वाचन परिचालन समिति गठन गरिएको छ। निर्वाचन आर्थिक समिति, केन्द्रीय निर्वाचन प्रचार समिति र भ्रातृ सङ्गठन परिचालन समिति समेत गठन गरिएको छ।
बैठकमा प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्षतर्फको उम्मेदवार छनोट गर्न सम्बन्धित प्रदेशका जिल्लासँग समन्वय गरी सुझाव पेश गर्ने जिम्मेवारी प्रदेश अध्यक्षहरूलाई दिइएको छ।
नेता पाण्डेका अनुसार पार्टीले मुलुकमा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माणका लागि वैचारिक दृष्टिकोणले निकट तथा समान आदर्श बोकेका सङ्घसंस्थालाई एकता तथा सहकार्यका लागि आग्रह गरेको छ।
असोज ७, २०७९ शुक्रबार ११:३०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।