बाबरको शानदार शतक, इङ्ग्ल्याण्डमाथि १० विकेटको जित अनि बनेका अनेक कीर्तिमान

बाबरको शानदार शतक, इङ्ग्ल्याण्डमाथि १० विकेटको जित अनि बनेका अनेक कीर्तिमान

काठमाडौं: गए राति सम्पन्न पाकिस्तान र इङ्ग्ल्याण्डबीचको दोस्रो टी ट्वेन्टी खेलमा पाकिस्तानले १० विकेटको जित हात पार्यो। सात खेलको श्रृङ्खला अब १-१ को बराबरीमा पुगेको छ।

टस जितेर पहिले ब्याटिङ रोजेको इङ्ग्लिस टोलीले दिएको २०० रनको ठूलो लक्ष्य पाकिस्तानले विकेट नगुमाई पूरा गर्यो, त्यो पनि तीन बल बाँकी छँदै।

पाकिस्तानका ओपनरद्वय बाबर आजम र मोहम्मद रिजवानले १९ ओभर ३ बलमा २०३ रन बनाएर खेल जिते। यो जितसँगै थुप्रै कीर्तिमान बन्यो।

पहिलो हो, टी ट्वेन्टी क्रिकेटमा विकेट नगुमाई हालसम्म सर्वाधिक धेरै रनको लक्ष्य भेटाउनु।

दोस्रो कप्तान बाबर आजमको व्यक्तिगत सफलता हो। हिजोको जितसँगै बाबरले पाकिस्तानको कप्तानको रूपमा सबैभन्दा बढी खेल जितेको कीर्तिमान बनाए।

तेस्रो बाबर र रिजवानको कीर्तिमान हो। उनीहरूको २०३ रनको पार्टनरशिप पाकिस्तानको लागि टी ट्वेन्टीमा सर्वाधिक ठूलो पार्टनरशिप हो।

चौथो उनीहरूको २०३ रनको पार्टनरशिप हालसम्मकै सर्वाधिक ठूलो ओपनिङ पार्टनरशिप हो। उनीहरूले सन् २०२१ मा बनाएको आफ्नै १९७ रनको कीर्तिमान भङ्ग गरेका हुन्। यो सूचीको 'टप फाइभ'मा चार वटा उनीहरूको कीर्तिमान छ।

यसैगरी बाबर आजम टी ट्वेन्टीमा सबैभन्दा छिटो आठ हजार रन बनाउने खेलाडीको सूचीमा दोस्रो नम्बरमा पुगे। उनी वेस्ट इण्डिजका लेजेण्ड क्रिस गेलभन्दा पाँच इनिङ पछि परे।

यस्तै पाकिस्तानको कप्तानको रूपमा बाबरले सर्वाधिक १० शतक बनाएर अर्को कीर्तिमान पनि बनाए। उनले ६२ बलमा शतक प्रहार गरेका थिए। पछिल्लो समय फर्मभन्दा बाहिर रहेका बाबरको अत्यधिक आलोचना हुन थालेको थियो। एसिया कपमा उनको प्रदर्शनपछि त ओपनिङमा आउन नहुने भन्दै आलोचना हुन थालेको थियो। तर, इङ्ग्ल्याण्डविरुद्धको हिजोको प्रदर्शनले आलोचना मत्थर भएको छ।

यता बाबरको शतकले छायामा पारे पनि रिजवानले ५१ बलमा ८८ रनको महत्त्वपूर्ण पारी खेले। उनको विस्फोटक ब्याटिङकै कारण पाकिस्तानको जित सम्भव भएको हो।

बलिङतर्फ पाकिस्तानका शाहनवाज दहानीले २ विकेट लिए। ह्यारिस राउफले पनि २ विकेट लिए। मोहम्मद नवाजले १ विकेट हात पारे।

ब्याटिङतर्फ इङ्ग्ल्याण्डका कप्तान मोइन अलीले ५५ रन बनाए। बेन डकेटले ४३ रन बनाए। फिल सल्टले ३० रन बनाउँदा एलेक्स हेल्स २६ रन बनाएर आउट भए।

पाकिस्तान र इङ्ग्ल्याण्डबीचको तेस्रो टी ट्वेन्टी आज छ। नेपाली समयअनुसार राति ८:१५ मा यी दुई टोली भिड्दैछन्। 

 

असोज ७, २०७९ शुक्रबार ०८:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।