नरैनापुरमा ‘भ्रष्टचार नियन्त्रण र सुशासन प्रवर्द्धन’ विषयमा अन्तरक्रिया सम्पन्न
बाँके: नरैनापुर गाँउपालिकामा ‘भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन’ विषयमा पालिकास्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले कानूनबमोजिम काम कारबाही गर्ने व्यक्ति अख्तियारसँग डराउन नपर्ने बताए।
सुशासन कुनै पनि लोकतान्त्रिक मुलुकको सार्वजनिक प्रशासनको महत्त्वपूर्ण आधारस्तम्भ रहेको अध्यक्ष शाहले बताए। उनले सार्वजनिक पदमा रहने जो-कोहीलाई पनि आफ्नो जिम्मेवारीप्रति उत्तरदायी, जवाफदेही तुल्याउने तथा शासन प्रणालीलाई जनमुखी, परिणाममुखी, सुदृढ, सक्षम, पारदर्शी, भ्रष्टाचार शून्य सहनशीलता, नागरिकका गुनासा सम्बोधन, निर्णय प्रक्रियामा जनसहभागिता र प्रतिस्पर्धी बनाउने पद्धति नै सुशासन भएको बताए।
नियमविपरीत आर्थिक क्रियाकलाप गर्ने, जनतालाई अनावश्यक दुःख दिने, आर्थिक प्रलोभनमा नियमविपरीतका काम गर्नेलाई कारबाही गर्न जरुरी रहेको बताउँदै अध्यक्ष शाहले नरैनापुरलाई लक्षित गरी परेको नौ वटा उजुरीले आफूले सकारात्मक रूपमा लिएको बताए।
उनले उजुरी पर्दैमा डराई हाल्नुपर्ने अवस्था नरहेकोले कानूनबमोजिम काम गरी रहन निर्देशन समेत दिए।
गाँउपालिका उपाध्यक्ष जयन्ती देवी श्रीवस्तवले अख्तियारको एक्लो प्रयासले मात्र भ्रष्टाचार नियन्त्रण नहुने हुँदा भ्रष्टचार रोक्न सबैको सहकार्य र समन्वय आवश्यक रहेको बताए। उनले पालिकाबाट आफूहरूले भ्रष्टाचार नियन्त्रण गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी थिइन्।
गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालले भ्रष्टाचारलाई कम गर्न र सुशासन प्रवर्द्धन गर्न सरोकारवालाले सक्रियता देखाउनुपर्ने बताए।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीले टेण्डरमार्फत कर्मचारी राख्ने परिपाटीको अन्त्य गर्न पालिकालाई सुझाव दिँदै अख्तियारले नरैनापुरमा पहिलो पटक गरेको अन्तरक्रियाको प्रशंसा गरे।
वडा अध्यक्षहरूका तर्फबाट बोल्दै वडा नं. २ का अध्यक्ष मसूद अहमद शाहले राज्यको विकासका लागि भ्रष्टाचार नियन्त्रण र सुशासन अपरिहार्य भएको बताए।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग नेपालगञ्जका प्रमुख विजयराज पौडेलले चालु आर्थिक वर्ष २०७९/८० मा नरैनापुरमा नौ वटा उजुरी परेकोमा ३ फर्छ्यौट भएको बताए। संविधान र ऐनले तोकिएको जिम्मेवारी पूरा गर्न अख्तियार लागिपरेको उनले बताए।
भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन कार्यक्रममा पालिकाका जनप्रतिनिधि र कर्मचारीहरूले आ–आफ्नो जिज्ञासा र गुनासो राख्दै अख्तियारलाई सुभाव समेत दिएका थिए।
असोज ७, २०७९ शुक्रबार ०८:१०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।