बागमती प्रदेश प्रहरीको चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू, ५३ सय प्रहरी परिचालन
काठमाडौं: बागमती प्रदेश प्रहरीको चाडपर्व लक्षित विशेष सुरक्षा योजना सार्वजनिक गरिएको छ।
बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यले सार्वजनिक गरेको सुरक्षा योजनाले चाडपर्वको समयमा हुने अपराधीक गतिविधिहरूलाई न्यूनिकरण एवं नियन्त्रण गरी बागमती प्रदेश अन्तर्गतका आम नागरिकले सुरक्षित रूपमा चाडपर्व मनाउने बातावरण तयार गर्ने कार्यालयले जनाएको छ।
चाडपर्व लक्षित सुरक्षा योजना अनुरूप जनपद, ट्राफिक तथा सादा पोशाकमा समेत गरी जम्मा ५ हजार ३३२ जना प्रहरी टोली परिचालित हुने नायव महानिरीक्षक बज्राचार्यले जानकारी दिए। उनले चाडपर्वको समयमा हुन सक्ने संभावित अपराधको न्यूनीकरणमा आ-आफ्नो कार्यालयले तोकिएको संख्यामा प्रहरी परिचालनको लागि आवश्यक निर्देशन दिए।
विशेष सुरक्षा योजनाले प्रहरी परिचालनमा मार्गनिर्देशन दिई आम नागरिकले सुरक्षित तबरले चाडपर्व मनाउने वातावरण सिर्जना हुनेमा विश्वास समेत उनले व्यक्त गरे।
कार्यक्रममा प्रत्यक्ष तथा भर्चुअल माध्यमबाट उपस्थित मातहत १० जिल्लाका कार्यालय प्रमुखहरूले भएगरेका गतिविधिहरू तथा आगामी योजनाको बारेमा समेत प्रस्तुतिकरण गरेका थिए।
असोज ६, २०७९ बिहीबार १८:०४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।