जनकपुरले धार्मिक पर्यटनको ठूलो सम्भावना बोकेको छ: शहरी विकासमन्त्री चौधरी

जनकपुरले धार्मिक पर्यटनको ठूलो सम्भावना बोकेको छ: शहरी विकासमन्त्री चौधरी

धनुषा: शहरी विकासमन्त्री मेटमणि चौधरीले जनकपुरधामले धार्मिक पर्यटनको ठूलो सम्भावना बोकेको बताएका छन्। जलेश्वर-जनकपुर-धनुषाधाम धार्मिक पर्यटकीय कोरिडोरमा पर्ने मठ, मन्दिर सौन्दर्यीकरणको लागि पूर्वाधार निर्माण आयोजनाको शिलान्यासपछि आयोजित सभामा मन्त्री चौधरीले यस्तो बताएका हुन्।

उनले भने, ‘ऐतिहासिक सम्पदा जनकपुरधाम भ्रमण गर्न बर्सेनी लाखौँ पर्यटक आउने गरेका छन्। खासगरी हिन्दू धर्ममा विश्वास गर्नेहरूको लागि यो पवित्र स्थल हो। यहाँको मौलिकता जोगाउँदै सौन्दर्यीकरण गर्न सके यसले धार्मिक पर्यटनको ठूलो सम्भावना बोकेको छ।’

जनकपुरधाम नेपालमा मात्र नभई विश्वमै परिचित स्थल रहेको बताउँदै मन्त्री चौधरीले शहरी विकास मन्त्रालयले यस क्षेत्रको विकासमा कुनै कसर बाँकी नराख्ने बताए। उनले भने, ‘तपाईंहरू फटाफट काममा जुट्नुस्। हामी बजेटको निरन्तर व्यवस्था मिलाउने छौँ। बजेट अभावका कारण आयोजना रोकिने स्थिति आउने छैन। काम निर्धारित समयभित्रै सक्नुस्। काम गर्दा गुणस्तरीयतामा कमी नहोस्। तपाईंहरूले पनि निरन्तर आयोजनाहरूको निगरानी गर्नुस्।’

आयोजनाअन्तर्गत जलेश्वर–२, मा सांस्कृतिक सामुदायिक भवनको स्तरोन्नति, बोधिमाई मन्दिर परिसरमा घाट निर्माण, ट्र्याक स्तरोन्नति, जनकपुरस्थित रामजानकी कुटीमा रहेको सांस्कृतिक भवन स्तरोन्नति, जनकपुरधाम–४ मा मिथिला परिक्रमा विश्राम भवन निर्माण, मिथिला बिहारी नगरपालिका कचुरीमा सांस्कृतिक भवन तथा विवाह मण्डप निर्माण, धनुषाधाम मन्दिर परिसरमा रहेको सांस्कृतिक भवनको स्तरोन्नति लगायतका योजनाहरू रहेका छन्।

आयोजनाको कुल अनुमानित लागत १० करोड रहेको छ। 

त्यसैगरी शहरी विकासमन्त्री चौधरीले दुर्गाचोक–रेल्वे ट्र्याक सडकखण्डमा शहरी सडक तथा नाला स्तरोन्नति कार्यको पनि शिलान्यास गरेका छन्। जसअन्तर्गत २.२ किमि लम्बाईमा १६ मिटर चौडा शहरी सडकको मापदण्डअनुसार साइकल लेन, फुटपाथको व्यवस्था हुनेछ।

दुवैतर्फ विरुवा रोपेर हरियाली कायम गरिने जनाइएको छ। यस आयोजनाको अनुमानित लागत रु २० करोड रहेको छ।

असोज ६, २०७९ बिहीबार १४:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।