धादिङको गजुरीमा बसको ठक्करबाट विद्यार्थीको मृत्यु, बसमा आगजनी, सडक अवरुद्ध

धादिङको गजुरीमा बसको ठक्करबाट विद्यार्थीको मृत्यु, बसमा आगजनी, सडक अवरुद्ध
तस्बिर: सामाजिक सञ्जाल

धादिङ: गजुरी गाउँपालिका वडा नं १ गजुरी बजारमा बसको ठक्करबाट स्कुले विद्यार्थीको मृत्यु भएको छ। काठमाडौंबाट गोरखा जाँदै गरेको ग१ख ४५६५ नंको बसले स्थानीय ६ वर्षीय विजय परियारलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो।

हाल गजुरी बजार तनावग्रस्त बनेको छ। घटनापछि स्थानीयले ठक्कर दिने बसमा आगजनी गरेका छन्। नाराबाजीसहित स्थानीयले सडक अवरुद्ध पारेका छन्। बसमा लगाएको आगो धुनिबेंसीबाट गएको दमकलले नियन्त्रणमा लिएको छ।

अहिले पृथ्वीराजमार्ग हुँदै गुड्ने सवारी गजुरी आसपासमै रोकिएका छन्। सडक खुलाउन स्थानीय र पीडितका आफन्तहरूसँग छलफल भइरहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक राकेश सिंहका अनुसार गजुरीकै आदर्श माविमा अध्ययनरत परियारलाई विद्यालय जाने क्रममा बसले ठक्कर दिएको हो।

घटनास्थलमा थप भीड बढ्न नदिन प्रहरीले काठमाडौंतर्फको गल्छी बजार र मुग्लिनतर्फको बेनिघाट क्षेत्रमा सवारी रोकेको छ। सयौँ सवारी जाममा परेका छन्।

एम्बुलेन्सलाई भने प्रहरीले स्कटिङ गरेर पास गराइरहेको छ।

असोज ६, २०७९ बिहीबार १३:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।