कपन आगलागीमा परी मृत्यु हुनेको पहिचान खुल्यो, एक जना घाइतेको दायाँ हात र दुवै खुट्टा जल्यो

कपन आगलागीमा परी मृत्यु हुनेको पहिचान खुल्यो, एक जना घाइतेको दायाँ हात र दुवै खुट्टा जल्यो

काठमाडौं: बूढानीलकण्ठ नगरपालिका–११ लसुनटारमा गए राति भएको आगलागीमा परी मृत्यु हुनेको पहिचान खुलेको छ। मृत्यु हुनेमा ताप्लेजुङका २७ वर्षीय कासाङ तेन्जी शेर्पा, सङ्खुवासभाका ३२ वर्षीय अशोक राई र काठमाडौंको रानीबारी बस्ने २५ वर्षीय छेवाङ शेर्पा रहेका छन्।

कपनको लसुनटारस्थित इलाइट हिमालयन एडभेञ्चरमा पोर्टेबल अक्सिजन सिलिण्डर र चुलो बाल्नका लागि प्रयोग हुने पोर्टेबल ग्यास सिलिण्डर विष्फोट हुँदा आगलागी भएको थियो। उक्त घटनामा काठमाडौंको कपनका २८ वर्षीय कुशल बुढाथोकी घाइते भएका छन्। उनको दाँया हात, दुवै खुट्टा र अनुहारको दायाँ भाग जलेको छ। उनको चुनिखेलस्थित करुणा अस्पतालमा उपचार भइरहेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले प्रहरी प्रभाग कपन, जिल्ला प्रहरी परिसर काठमाडौं, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले स्थानीयको सहयोगमा आगो निभाएको जानकारी दिए।

आगो निभाउन दुई सय प्रहरी, ७० नेपाली सेना र ३० सशस्त्र प्रहरी परिचालन गरिएको थियो।

आगो निभाउन बौद्ध रामहिटी, काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिकाबाट, भक्तपुर नगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र त्रिभुवन विमानस्थलको गरी नौ वटा दमकल तथा १० पानी ट्याङ्करको प्रयोग गरिएको थियो।

आगलागीबारे आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता मैनालीले बताए।

असोज ६, २०७९ बिहीबार ०९:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।