बाँकेको नरैनापुर गाउँपालिकाले विपद् सूचना व्यवस्थापन पोर्टल संचालन गर्ने

बाँके: नरैनापुर गाँउपालिकाले विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापनका लागि विपद् सूचना व्यवस्थापन प्रणाली लागू गर्ने भएको छ।
नरैनापुर गाँउपालिकामा 'सेभ द चिल्ड्रेन'को सहयोगमा एसडीएफले बुधबार आयोजना गरेको पोर्टल स्थानीयकरण सम्बन्धी अभिमुखीकरण कार्यशालामा बोल्दै नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले पोर्टलमार्फत विपद्को तयारी, प्रतिक्रिया, सतर्क, जोखिम सम्बन्धी जानकारी साथै क्षमता र संशोधनका विभिन्न तथ्याङ्क र सूचना लिन सहज हुने भएकोले संचालनका लागि गाँउपालिकाले भूमिका खेल्ने बताए।
कार्यशालालाई सहजीकरण गर्दै आई.एच.आर.आर का टिम लिडर सुरज गौतमले विपद् पोर्टलले पूर्वतयारी, पूर्व चेतावनी र प्रतिकार्यमा सुदृढ पार्ने क्षमता राख्नुका साथै यसले विपद् जोखिमको सञ्चार र विपद्पछिको घटनामा समन्वय गर्न र तथ्यमा आधारित रहेर विपद् जोखिम न्यूनीकरणसँग सम्बन्धित योजना तर्जुमा गर्न र स्थानीयस्तरमा सूचीत निर्णय लिन र नीति बनाउन समेत मद्दत पुर्याउने बताए।
उनले पोर्टल संचालनका लागि आफूहरूले प्राविधिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यशालामा सेभ द चिल्ड्रेनका वरिष्ठ कार्यक्रम संयोजक शेर रौलेले विपद् पोर्टलले जलविज्ञान र मौसमसम्बन्धी जोखिम जस्तैः भीषण वर्षा र बाढी, वातावरणीय जोखिम जलवायु प्रदूषण र भूकम्प जस्ता भूवर्गीय जोखिमको सूचना दिनुका साथै चेतावनी वा खतरा सीमा पार गर्दा विपद् पोर्टलमा चेतावनी सूचना प्रदर्शीत हुने बताए।
उनले गाँउपालिकासँग सहकार्य गरेर वडा तहबाट तथ्याक संकलन गरी दुई महिनाभित्रै पोर्टल संचालनमा ल्याउने तयारी गरेको जानकारी गराए।
कार्यक्रममा गाँउपालिका प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालले विपद् पोर्टलमा नेपाल सरकारका विभिन्न निकाय, विपद्मा कार्य गरिरहेका सङ्घ संस्थाबाट तयार गरिएका सूचना तथा तथ्याङ्कले गाँउपालिकाको रणनीति योजना बनाउन सहज हुने बताए।
असोज ६, २०७९ बिहीबार ०८:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।