शिक्षण अस्पतालको महँगो बेडमा डा. केसीको उपचार सुरु, अनशन जारी

काठमाडौँ : अनसनरत डा. गोविन्द केसीको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको बेड नं. ‘५०१’ मा उपचार सुरु भएको छ। भदौ २७ बाट धनगढीमा अनसन सुरु गरेका अनसनरत डा. केसी काठमाडौँ आएपछि शिक्षण अस्पतालमा उपचार सुरु भएको हो।
डा. केसी शिक्षण अस्पतालको एनेक्स–१ भवनको डिलक्स क्याबिनको बेड (कोठा) नं. ५०१ मा भर्ना भएर अनसनरत छन्। सो कोठा अस्पतालको सबैभन्दा महँगो कोठा हो। जहाँ टेलिभिजन र इन्टरनेटलगायतको सुविधा भएको अस्पतालका सूचना अधिकारी राम विक्रम अधिकारीले जानकारी दिए।
डा. केसी शिक्षण अस्पतालको पूर्व चिकित्सक भएकाले उनी सो अस्पतालमा उपचार गराउँदा ९० प्रतिशत छुट पाउने व्यवस्था रहेको अस्पतालका सूचना अधिकारीले जानकारी दिए।
डा. केसीको उपचारका लागि शिक्षण अस्पताल एनेस्थेसिया विभागका सहप्राध्यापक डा. प्रमेश सुन्दर श्रेष्ठको संयोजकत्वमा पाँच सदस्यीय उपचार व्यवस्थापन समिति बनेको छ।
त्यसैगरी सदस्यहरूमा मनमोहन कार्डियो भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरका मुटु रोग विशेषज्ञ डा. सूर्य देवकोटा, शिक्षण अस्पतालका फिजिसियन डा. सविन थपलिया, शिक्षण अस्पतालकै नर्सिङ सुपरभाइजर सुमिता तिवारी छन्। त्यसैगरी अस्पतालका सूचना अधिकारी राम विक्रम अधिकारी सदस्य सचिवको भूमिकामा छन्।
डा. केसीका सहयोगी प्रितम सुवेदीले पनि शिक्षण अस्पतालको कोठा नं. ‘५०१’ मा उनको उपचार सुरु भएको उकेरालाई जानकारी दिए। डा. केसी १९ औँ अनसनको समयमा पनि त्यही कोठामा बसेको उनले बताए। स्वास्थ्य सुधारका सात बुँदे माग राख्दै २० औँ अनसन सुरु गरेको दसौँ दिनमा उनी काठमाडौँ आएका हुन्।
केसीका सहयोगी सुवेदीका अनुसार डा. केसी श्री एयरलाइन्सबाट आफ्नै खर्चमा काठमाडौँ आएका हुन्। सरकारले सरकारी खर्चमा उनलाई काठमाडौँ ल्याउन प्रयास गरे पनि डा. केसी नमानेपछि उनी बुधवार आफ्नै खर्चमा काठमाडौँ आएको सुवेदीले जानकारी दिए।
असोज ५, २०७९ बुधबार २०:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।