धरानकी पूर्णसरी राईको हत्यामा संलग्न दुई जना पक्राउ

सुनसरी: धरान उप-महानगरपालिका-२० की ६४ वर्षीया पूर्णसरी राईको हत्यामा संलग्न रहेको आरोपमा ईलाका प्रहरी कार्यालय धरानले दुई जनालाई पक्राउ गरेको छ। भदौ २९ गते दिउँसो राई आफ्नै घरमा मृत अवस्थामा भेटिएसँगै ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले अनुसन्धान सुरु गरेको थियो।
अनसन्धानको क्रममा राईको शरिरमा धारिलो हतियारले काटेको पाइएको थियो। १ नम्बर प्रदेश प्रहरी कार्यालयको अनुसन्धान (आरआईटी) समूह, संघीय प्रहरी ईलाका कार्यालय धरान, जिल्ला प्रहरी कार्यालय सुनसरी र ईलाका प्रहरी कार्यालय धरानबाट संयुक्त रूपमा परिचालन भएको प्रहरी अनुसन्धान टोलीले घटनामा संलग्न धनकुटाको सागुरीगढी गाउँपालिका-०८ ढुङ्गेका १८ वर्षीय निखिल भन्ने नकुल राईलाई असोज २ गते विराटनगरको रानीबाट पक्राउ गरेको थियो।
राईसँग सोधपुछ गर्ने क्रममा घटनामा भोक्राहा नर्सीङ गाउँपालिका- ६ का २० वर्षीय रञ्जितकुमार साहको संलग्नता समेत रहेको खुलेको थियो। साहलाई पनि पक्राउ गरिएको छ।
हत्या गरिएकी राईले लगाएको सुनको सिक्री तथा कुण्डल समेत लुटेर लगेको खुलेको छ। उक्त लुटेको सुनका गहना रञ्जितकुमार साहको घरमा लुकाएर राखेको अवस्था बरामद भएको थियो।
ईलाका प्रहरी कार्यालय धरानले यस विषयमा थप अनुसन्धान गरिरहेको छ।
असोज ५, २०७९ बुधबार १२:०५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।