मोरङमा अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता सुरु, १२० खेलाडी सहभागी

काठमाडौं: मोरङको सुन्दरहरैचामा विराट खुला अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता सुरु भएको छ। विराट चेस क्लब सुन्दरहरैचाको आयोजनामा मङ्गलबारदेखि उक्त प्रतियोगिता सुरु भएको हो।
प्रतियोगितामा नेपालसहित भारत र बङ्गलादेशका गरी एक सय २० खेलाडी सहभागी छन्। प्रतियोगिताका विजेतालाई रु चार लाख ६० हजार राशि पुरस्कारस्वरूप प्रदान गरिने छ। प्रतियोगिताको उद्घाटन सुन्दरहरैचा नगरपालिकाका प्रमुख केदारप्रसाद गुरागाईँले गरे।उनले प्रतियोगिताको माध्यमबाट यस क्षेत्रको विकास र पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने उल्लेख गरे।
प्रतियोगितामा प्रथम हुने खेलाडीलाई एक लाख नगदसहित ट्रफी प्रदान गरिने छ। यस्तै दोस्रो हुनेले रु ७० हजार, तेस्रो हुनेले रु ५० हजार र चौथो हुनेले रु ३० हजारसहित ट्रफी प्राप्त गर्ने छन्।
खेल अवधिभरि विभिन्न विधामा २० जनालाई पुरस्कार प्रदान गरिने खेल संयोजक लक्ष्मीकुमार श्रेष्ठले जानकारी दिए। प्रतियोगिता आगामी असोज ८ गतेसम्म सञ्चालन हुनेछ।
असोज ५, २०७९ बुधबार ०९:१८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।