आफ्नै भूमिमा हारे भारत र पाकिस्तान

काठमाडौं: गए राति सम्पन्न दुई टी ट्वेन्टी खेलमा दुवै घरेलु टोली पराजित भएका छन्। भारत र अष्ट्रेलियाबीचको 'हाई स्कोरिङ' खेलमा अष्ट्रेलियाले ४ विकेटले जित हात पार्यो भने पाकिस्तान र इङ्ग्ल्याण्डबीचको खेलमा इङ्ग्ल्याण्डले ६ विकेटको जित हात पार्यो।
भारत र अष्ट्रेलियाबीचको खेल पञ्जाब क्रिकेट एसोशिएशनको मैदानमा खेलिएको थियो। जहाँ पहिला टस जितेर अष्ट्रेलियाले बलिङ गर्ने निर्णय गरेको थियो।
ब्याटिङमा उत्रिएको भारतीय टोलीले २० ओभरमा ६ विकेट गुमाउँदै २०८ रन बनायो। भारतका लागि हार्दिक पाण्ड्याले ३० बलमा ७१ रनको विस्फोटक पारी खेले। केएल राहुलले ५५ रन बनाए। सूर्यकुमार यादवले ४६ रन बनाए। अन्य ब्याट्सम्यान चलेनन्।
केही दिनअघि सम्पन्न एसिया कपमा शतक हानेर फर्ममा फिर्ता भएका विराट कोहली फेरि असफल सिद्ध भए। उनले ७ बलमा केवल २ रन बनाए।
बलिङतर्फ अष्ट्रेलियाको लागि नेथन एलिसले ३ विकेट लिए। जोस हेजलवुडले २ विकेट लिए। यस्तै क्यामरुन ग्रीनले १ विकेट आफ्नो नाम बनाए।
भारतले दिएको २०९ रनको लक्ष्यसहित ब्याटिङमा उत्रिएको अष्ट्रेलियाली टोलीका कप्तान आरोन फिन्चले २२ रन बनाए। क्यामरुन ग्रीनले ३० बलमा ६१ रनको पारी खेले। म्याथ्यु वेडले ४५ र स्टिभ स्मिथले ३५ रन बनाए।
बलिङमा भारतका अक्सर पटेलले ३ तथा उमेश यादवले २ विकेट लिए पनि अष्ट्रेलियाले खेल जित्यो।
यता १७ वर्षपछि पाकिस्तानमा खेलेको इङ्ग्लिस टोलीले पाकिस्तानविरुद्ध ७ खेलको श्रृङ्खलामा १-० को अग्रता बनाएको छ। टस जितेर पहिला बलिङ रोजेको इङ्ग्ल्याण्डले उच्च रन बन्न सक्ने पिचमा पनि पाकिस्तानलाई १५८ मै समेटिदियो। सो लक्ष्य इङ्ग्ल्याण्डले १९ ओभर २ बलमा ४ विकेट गुमाएर पूरा गर्यो।
पाकिस्तानका मोहम्मद रिजवानले ४६ बलमा ६८ रनको दमदार पारी खेले। यस्तै कप्तान बाबर आजमले ३१ रन बनाए। इफ्तिकार अहमदले २८ रन बनाए। अन्य ब्याट्सम्यानले उल्लेखनीय स्कोर बनाएनन्।
इङ्ग्ल्याण्डका बलरले लुक वुडले ३, अदिल रशिदले २ र मोइन अलीले १ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको इङ्ग्लिस टोलीले सो लक्ष्य पूरा गर्ने क्रममा एलेक्स हेल्सले ५३ रनको अर्धशतकीय पारी खेले। ह्यारी ब्रुक्सले अविजित ४२ रन बनाए। यस्तै बेन डकेटले २१ रन बनाए।
बलिङतर्फ पाकिस्तानका उस्मान कादिरले २ तथा हारिफ राउफले १ विकेट लिए। यस्तै शहनवाज दहानीले १ विकेट लिए। तर पाकिस्तानले म्याच गुमायो।
यी टोलीबीचको दोस्रो खेल भोलि बिहीबार राति ८:१५ बाट सुरु हुनेछ भने भारत र अष्ट्रेलियाबीचको दोस्रो खेल शुक्रबार साँझ ७:१५ बाट सुरु हुनेछ।
असोज ५, २०७९ बुधबार ०७:५९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।