आइएमई र यूएनसिडिएफबीच अनुसन्धान समझदारी

काठमाडौंः आइएमई र युनाइटेड नेशन क्यापिटल डेभलपमेन्ट फण्ड(यूएनसिडिएफ)बीच अनुसन्धान समझदारी भएको छ।
समझदारी अनुसार सूचना प्रविधिको विकाससँगै डिजिटल वालेटमा रेमिटेन्सको आप्रवाह बढाउन दुवै सँस्थाहरूबीच सहकार्य हुनेछ। यो सम्झौता विशेषतः महिला रेमिटेन्स प्राप्तकर्ताहरूका समस्या र ती समस्याहरूको न्यूनीकरणमा बढ्ता केन्द्रीत हुनेछ।
डिजिटल वालेटमा महिलाको पहुँच अभिवृद्धि गर्न र ग्रामिण क्षेत्रमा रहँदै आएको बैंकिङ्ग पहुँचको कमजोर अवस्थामा सुधार ल्याउन समेत यो समझदारी उपयोगी हुनेछ। महिलाहरूको वित्तीय पहुँच अभिवृद्धि गर्ने उद्देश्यसमेत यो समझदारीमा समेटिएको छ।
यस समझदारीपछि नेपाल सरकारले अघि सारेको डिजिटल नेपाल र वित्तीय समावेशीकरणमा थप सहयोग पुग्ने विश्वास दुवै संस्थाले लिएका छन्।
सन् २०२१ को शुरूवातदेखि आइएमई र यूएनसिडिएफले वैदेशिक रोजगारीमा गएका परिवारको हितका लागि सहकार्य गर्दै आइरहेका गरेका छन्। सर्वेक्षण एवम् अनुसन्धानका माध्यमबाट ग्राहकका समस्या बुझ्न र विशेषतः रेमिटेन्स प्राप्तकर्ताहरूका समस्या पहिचान गरी ग्राहक प्रोफाइलको निर्माण गरिने उद्देश्य यसपटकको समझदारीमा उल्लेख गरिएको छ।
रेमिटेन्स आप्रवासी परिवारहरू विशेष गरी महिलाहरूको वित्तीय समावेशीकरणमा सहयोगी हुने विश्वास दुवै संस्थाले लिएका छन्। तुलनात्मक रूपमा डिजिटल वालेटमा महिलाको कमजोर पहुँचका कारणले बहुसंख्यक महिला रेमिटेन्स प्राप्त कर्ता प्रभावित हुन्छन कि भन्ने सन्दर्भमा आइएमई र यूएनसिडिएफले डिजिटल वालेटमा महिलाहरूको पहुँच अभिवृद्विमा विद्यमान अवरोधहरू हटाउन सहकार्य गरेका हुन्।
असोज ४, २०७९ मंगलबार २२:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।