जलविद्युत र पर्यटनमा इन्डोनेशियाको लगानी भित्र्याउन प्रधानमन्त्रीको आग्रह

काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको जलविद्युत्, पर्यटन र अन्य सम्भावित क्षेत्रमा इन्डोनेशियाको लगानी भित्र्याउन सहजीकरण गर्न नेपालका लागि इन्डोनेशियाका राजदूतलाई आग्रह गरेका छन्।
मंगलबार बालुवाटारमा नेपालका लागि इन्डोनेशियाका राजदूत हेरु हारतान्तो सुबोलोसँगको भेटमा प्रधानमन्त्री देउवाले इन्डोनेशियाको सरकारी तथा निजी क्षेत्रको लगानी भित्र्याउन तथा नेपालको हिमाली पर्यटनलाई इन्डोनेशियाका पर्यटकबीच प्रवर्द्धन गर्न आग्रह गरेको नेपालका लागि इन्डोनेशियाका अवैतनिक वाणिज्यदूत चन्द्रप्रसाद ढकालले जानकारी दिए।
प्रधानमन्त्री देउवाले नेपालमा गणतन्त्र इन्डोनेशियाको आवासीय दूतावास स्थापनाका लागि इन्डोनेशियाको सरकारसँग आग्रह गरेका छन्। उनले इन्डोेनेशियन जनतालाई शान्तिका अग्रदूत गौतम बुद्धको जन्मभूमि लुम्बिनी भ्रमणका लागि समेत आग्रह गरे।
उक्त भेटमा नेपालका लागि गणतन्त्र इन्डोनेशियाका राजदूत सुबोलोले नेपालमा आवासीय दूतावास स्थापनाको लागि आफू सकारात्मक रहेको बताउँदै नेपालका प्रधानमन्त्रीको यो सन्देश इन्डोनेशिया सरकारसँग आफूले पुर्याउने बताए।
राजदूत सुबोलोले कूटनीतिक तथा सरकारी राहदानीबाहकहरुलाई भिसा सहजीकरणको लागि दुई देशबीच छिट्टै सम्झौता हुने बताए।
उनले नेपाल भ्रमणका लागि इन्डोनेशियाका पर्यटकलाई सहज वातावरण बनाउन आग्रह गर्दै नेपालीहरूलाई इन्डोनेशिया भ्रमण गर्दा सहज वातावरण बनाउनका लागि अन अराईभल भिसा उपलब्ध गराउनेसम्बन्धी काम भइरहेको जानकारी दिए।
भेटमा नेपालका लागि इन्डोनेशियाका अवैतनिक वाणिज्यदूत चन्द्रप्रसाद ढकाल, दूतावास तथा वाणिज्य दूतको कार्यालयका कर्मचारीहरूको उपस्थिति थियो।
असोज ४, २०७९ मंगलबार २०:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।