नागरिकता विधेयकले अप्ठ्यारोमा राष्ट्रपति : प्रमाणीकरण कि राजीनामा?

काठमाडौंः संविधानअनुसार मंगलबार नागरिकता ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७९ लाई प्रमाणीकरण गर्ने अन्तिम दिन हो।
प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट दोस्रोपटक पारित भएर राष्ट्रपति विद्यादेवी भण्डारीकहाँ पुगेर रोकिएको आज पन्ध्रौं दिन हो। विधेयक प्रमाणीकरण गर्ने वा राजीनामा दिने राष्ट्रपति भण्डारीसँग दुई विकल्प रहेकाे संविधानका जानकार बताउँछन्।
पूर्व न्यायाधीश बलराम केसी राष्ट्रपति सँग दुई विकल्प रहेको धारणा राख्छन्। दोस्रोपटक पारित भएर आइसकेको विधेयक राष्ट्रपतिले प्रमणीकरण गर्नैपर्ने संवैधानिक व्यवस्था छ। यदि त्यसरी पारित नभए देशमा संवैधानिक संकट आउने उनले बताए।
‘उहाँले प्रमाणीकरण गर्नैपर्छ, संविधानले कुनै विकल्प नै दिएको छैन,’ उनले भने, ‘विधेयकमा चित्त नबुझेको खण्डमा राजीनामा दिन भने पाइन्छ।’
संविधानअनुसार विधेयक प्रमाणीकरण गर्नैपर्ने अवस्थामा राष्ट्रपतिले राजीनामा दिनसक्ने आँंकलन पनि हुन थालेको छ। उनले राजीनामा दिएको खण्डमा विधेयककौ औचित्य सकिन्छ र निर्वाचन पछि आउने संसदले पुनः यसमा विचार गर्नेछ।
राजीनामा नदिएर विधेयक प्रमाणीकरण गर्दा राष्ट्रपतिमाथि नैतिक प्रश्न उठ्ने देखिन्छ। यसअघि सोही प्रावधान भएको विधेयकलाई राष्ट्रपतिले ८ बुँदे सन्देशसहित फिर्ता पठाएकी थिइन्।
अहिले सोही प्रावधान भएका विधेयक प्रमाणीकरण गर्दा संवैधानिक हिसाबले ठिक भए पनि नैतिक तवरले भने ठिक हुँदैन। राष्ट्रपतिले राजीनामा दिएर आफूमाथि उठेको नैतिक प्रश्नको उत्तर दिन्छिन् कि प्रमाणीकरण गर्छिन् त्यसको उत्तर केही घण्टामै थाहा हुनेछ।
असोज ४, २०७९ मंगलबार १८:२२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।