नयाँ बसपार्कबाट मात्र २९ हजार जनाको अग्रिम टिकट बुकिङ, गन्तव्यभन्दा टाढाको टिकट किन्नुपरेको यात्रुको गुनासो

काठमाडौंः दशैंमा उपत्यकाबाट बाहिर जान नयाँ बसपार्कबाट मात्र २९ हजार जनाले अग्रिम टिकट बुकिङ गरेका छन्।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार तीन दिनमा १९ हजार जनाले अग्रिम टिकट बुकिङ गरेका हुन्।
बुकिङ खुलेको पहिलो दिन असोज १ गते ११ हजार, २ गते ८ हजार ५ सय र ३ गते ९ हजार ५ सय जनाले टिकट काटेको नयाँ बसपार्क ट्राफिक व्यवस्थापन बिटकी प्रहरी सई लिला भट्टराईले जानकारी दिइन्।
मंगलबार बिहान ९ बजे गोंगबुस्थित नयाँ बसपार्क पुग्दा टिकट काउन्टर बाहिरको एक लाइनमा १०–१२ जनामात्रै देखिन्थे। चौथो दिन भइसक्दा भीड कम भए पनि टिकट नपाएको सर्वसाधारणको गुनासो छ।
दार्चूलाका जनकराम टमटाले आफ्नो गन्तव्यभन्दा परसम्मको टिकट काट्नुपरेको बताए। आफ्नो गन्तव्य वरै भए पनि परसम्मको टिकट काट्न लगाउँदा उनलाई कतिपनि चित्त बुझेको छैन।
‘अरु त गाह्रो भएन तर गन्तव्य जहाँ हो त्यहाँ सम्म्को टिकट दिएनन्,’ उनले भने, ‘म झर्नुपर्ने पाटन भए पनि गोकुलेश्वरसम्मको टिकट काट्नुपर्यो।’
अग्रिम टिकट बुकिङको व्यवस्थापन राम्रो नभएको सुर्खेतका ध्रिस्टबहादुर शाहीले बताए। टिकट पाउनका लागि भनसुन गर्नुपर्ने उनको गुनासो छ।
‘टिकट पाउन मुस्किल छ, भनसुन गरेर बल्ल टिकट पाएँ,’ उनले भने, ‘पावर र पहुँच भएकाहरूलाई सहज भए पनि नभएकालाई गाह्रो छ।’
काठमाडौंबाट दशैं मनाउन घर जान चाहने यात्रुका लागि यातायातको सहज व्यवस्था होस् भनेर सरकार र यातायात व्यवसायीले असोज १ गतेदेखि टिकट बुकिङ खुला गरेका हुन्।
अहिले काठमाडौंको नयाँ बसपार्क, पुरानो बसपार्क, गौशाला लगायतका ठाउँका टिकट काउन्टरबाट दशैंका लागि अग्रिम टिकट बुकिङ भइरहेको छ।
यातायात व्यवस्था विभागका अनुसार अग्रिम टिकट बुकिङका लागि उपत्यकाका विभिन्न १४ स्थानमा हेल्प डेस्क स्थापना गरि बुकिङ सुरु गरिएको छ।
असोज ४, २०७९ मंगलबार १६:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।