मानवअधिकार आयोगले भन्यो– ‘चाउचाउ र चिउरा खाएका बाढीपीडितलाई गाँसबासको व्यवस्था गर’

काठमाडौंः राष्ट्रिय मानवअधिकार आयोगले बाढी, पहिरो तथा डुबान पीडितहरूको उद्धार, राहत तथा बसोबासको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ।
मंगलबार प्रेस विज्ञप्ति निकालेर आयोगले गत हप्ता परेको अबिरल बर्षाले सुदूरपश्चिम प्रदेशका अछाम, कैलाली र कञ्चनपुर, बझाङ, डडेल्धुरा लगायतका जिल्लामा बाढी, पहिरो एवम् डुबानका कारण ३२ जनाको मृत्यु भएको, ३० जना घाइते, १२ जना बेपत्ता तथा ४ हजार ५१ घरपरिवार विस्थापित भएको अवस्थाप्रति गम्भीर ध्नायाकर्षण भएको जनाएको हो।
प्राकृतिक विपद्बाट हुन गएको जनधनको क्षतिप्रति आयोग गहिरो दुःख व्यक्त गर्दै आयोगको सुदूरपश्चिम प्रदेश कार्यालयले बाढी, पहिरो तथा डुबानबाट प्रभावितहरूको अवस्थासम्बन्धमा विभिन्न माध्यमबाट अनुगमन गरिरहेको जनाएको छ।
खाद्यान्न अभावमा पीडितहरू चाउचाउ र चिउरा खाएर बसिरहेको भन्दै आयोगले बाढीबाट बिस्थापितहरूको तत्काल गाँस, बासको उचित व्यवस्था गर्न आग्रह गरेको छ। बाढीका कारण मरेका चौपायाले संक्रामक रोग र महामारी फैलिन अवस्था भएकाले सचेत हुनसमेत उसको आग्रह छ।
असोज ४, २०७९ मंगलबार १५:१५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।