दशैंको लागि अग्रिम बुकिङ भयो ८० प्रतिशत हवाई टिकट, फर्किने टिकट पनि ७० प्रतिशत बुक्ड

दशैंको लागि अग्रिम बुकिङ भयो ८० प्रतिशत हवाई टिकट, फर्किने टिकट पनि ७० प्रतिशत बुक्ड

काठमाडौं: विमान सेवा प्रदायक कम्पनीले दशैंका लागि मात्रै ८० प्रतिशत अग्रिम टिकट बुकिङ भइसकेको जनाएका छन्। केही दिन पहिले आन्तरिक हवाई सेवा प्रदायक कम्पनीले दशैंका लागि हवाई टिकट बुकिङ खुला गरेसँगै अहिलेसम्म ८० प्रतिशत टिकट बुकिङ भएको जनाएका छन्।

हालसम्म सबैभन्दा बढी श्री एयरलाइन्सले ८० प्रतिशत टिकट बुकिङ गरिसकेको कम्पनीका प्रवक्ता अनिल मानन्धरले जानकारी दिए।यसैगरी बुद्ध एयरको हालसम्म ४० प्रतिशत अग्रिम बुकिङ गरेको छ। यति एयरलाइन्सले ७० प्रतिशत, गुण एयरलाइन्सले ८० प्रतिशत बुकिङ गरेको जनाएका छन्।

दशैं आउन एक साता बाँकी हुँदा हवाई टिकट ८० प्रतिशत सकिएको बताइएको छ। हवाई सेवाको अग्रिम टिकट बुकिङ सँगसँगै आन्तरिक हवाई सेवा प्रदायक कम्पनीले टिकट भाडामा पनि वृद्धि गरेका छन्।

विगतमा काठमाडौं–धनगढी हवाई भाडा रु सात हजार पाँच सय रहेकामा अहिले अधिकतम रु १७ हजार कायम गरिएको छ।

सबैभन्दा कम टिकटको मूल्य विराटनगर–काठमाडौं रहेको छ। विराटनगर–काठमाडौं एकतर्फी भाडा न्यूनतम रु चार हजार पाँच सय अधिकतम भाडादर रु १० हजार कायम गरिएको छ।

अग्रिम टिकट बुकिङसँगै हवाई भाडामा पनि उकालो लागेको गुण एयरलाइन्सका प्रवक्ता प्रज्वल थापाले जानकारी दिए। उनका अनुसार काठमाडौं फर्कनका लागि टीकाको भोलिपल्टदेखिका लागि पनि ७० प्रतिशत टिकट अग्रिम बुकिङ भइसकेको छ।

असोज ४, २०७९ मंगलबार १३:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।