अन्य दलले प्रतिनिधि पठाउँदा उपेन्द्र यादव बन्दसूची बोकेर आफैँ पुगे आयोग

काठमाडौंः आगामी प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको उम्मेदवारको बन्दी सूची बुझाउन दलहरुले निर्वाचन आयोग पुगेर बुझाएका छन्।
निर्वाचन आयोगमा सोमबार अपरान्ह पुगेर कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको तर्फबाट समानुपातिक तर्फको उम्मेदवारको बन्द सूची बुझाएका हुन्।
एमालेका निर्वाचन आयोग विभागका उपप्रमुख नीरज आचार्यसहितको टोलीले बन्दसूची बुझाएको हो।
माओवादी केन्द्रका महासचिव देव गुरुङ र डा. बाबुराम भट्टराईको पार्टी नेपाल समाजवादी पार्टीका प्रतिनिधिले बन्दसूची बुझाएका छन्। माओवादीकै चुनाव चिह्नमा निर्वाचन लड्न लागेका भट्टराईको पार्टीबाट प्रतिनिधि सभाको समानुपातिकतर्फ ५ सिट पाएको छ।
एकीकृत समाजवादीका नेता गंगालाल तुलाधरले पार्टीको तर्फबाट समानुपातिक तर्फको उम्मेदवारको बन्द सूची आयोगमा बुझाएका हुन्।
लोकतान्त्रिक समाजवादी पार्टीका नेता केशव झाले आयोग पुगेर बन्दसूची बुझाउँदा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव आफैँ सूची बोकेर आयोग पुगेका थिए।
त्यसैगरी, सोमबार नै राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीले पनि उम्मेदवारको बन्द सूची बुझाएका छन्।
पहिलो दिन आइतबार साना चार दलले मात्रै निर्वाचन आयोगमा सूची बुझाएका थिए । आज आयोगमा बुझाएका र १६ गतेसम्ममा आएका विवरणको जाँचबुझपछि असोज २२ गते आयोगले सार्वजनिक गर्ने आयोगले जनाएको छ।
असोज ३, २०७९ सोमबार १९:४७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।