अध्यन्तलाई लगानी कोष प्रबन्धकको इजाजत

अध्यन्तलाई लगानी कोष प्रबन्धकको इजाजत

काठमाडौंः नेपाल धितोपत्र बोर्डले आध्यन्त फण्ड म्यानेजमेन्ट लिमिटेडलाई नेपालमा लगानी कोष प्रबन्धकको रूपमा काम गर्ने गरी इजाजत पत्र दिएको छ।

सेबोन–विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ अन्तर्गत प्राप्त इजाजतपत्रले कम्पनीलाई नेपालमा लगानी कोष स्थापना, व्यवस्थापन र प्रबर्द्धन गर्न अनुमति दिएको हाे।

सेबोनले देखाएको नवीनतम तथा रुपान्तरणकारी सोचले निजी पूँजीको परिचालन मार्फत नेपालको आर्थिक समुन्नतिको सम्भावनालाई बलियो आधार प्रदान गर्ने आध्यन्तका संस्थापक मनोज पौडेलको विश्वास छ।

आगामी दिनमा नेपालको सम्भावना र आकांक्षालाई सघाउने खालका व्यवसाय र नवउद्यमहरूको स्तरवृद्धि गर्न निजी पूँजीलाई उद्देश्यपूर्ण रूपमा परिचालन गरी राष्ट्रिय पूँजीको विकास गर्ने लक्ष्य कम्पनीले राखेको उनले बताए।

उनले भने, ‘हामी सन् २०३० सम्ममा दिगो विकासका लक्ष्य प्रप्तिको उद्देश्यसहित नेपाललाई मध्य–आय भएको देशमा स्तरोन्नति गर्न प्राथमिकतामा रहेका क्षेत्रहरूलगायत उद्योग–व्यवसाय, पूर्वाधार, नवउद्यम, र अन्य क्षेत्रहरूमा लगानी परिचालन गर्नेछौं।’ 

असोज ३, २०७९ सोमबार १८:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।