आरजु/ निधी/ महरा : प्रत्यक्ष उम्मेदवार बन्ने भन्दै हुने भए समानुपातिक उम्मेदवार

काठमाडौँ : प्रतिनिधि सभाको निर्वाचनमा पाँच दलीय गठबन्धनबाट प्रत्यक्षतर्फ उम्मेदवारको सिफारिसमा परेका नेताहरू समानुपातिकमा बसेका छन्। नेपाली कांग्रेस र माओवादीबाट प्रत्यक्षतर्फ टिकट दाबी गरेका नेताहरू समानुपातिकमा बसेका हुन्।
माओवादीका नेता कृष्णबहादुर महरा जसले गत निर्वाचनमा दाङ–२ बाट प्रत्यक्षतर्फ जितेका थिए यो पाली उनी समानुपातिकमा बसेका छन्। पार्टीस्रोतका अनुसार उनी आफैँले आफू समानुपातिकमा बस्न इच्छा देखाएका हुन्।
सभामुख भएका उनी यो कार्यकालमा बलात्कार प्रयासको आरोपमा परेर कारागारमा समेत बस्न पुगे। पछि सफाइ पाएका उनी पछिल्लो समय राजनीतिमा सक्रिय हुन सकिरहेका थिएनन्।
२०७४ मा कैलाली- ५ मा प्रत्यक्षतर्फको उम्मेदवार बनेर एमालेका नारदमुनि रानासँग पराजित भएकी प्रधानमन्त्री शेरबहादुर पत्नी तथा कांग्रेस नेता आरजु राणा देउवा समेत समानुपातिकमा बसेकी छिन्।
उनी यस पटक कैलाली या डडेल्धुराबाट प्रत्यक्षमै उम्मेदवार बन्ने तयारीमा थिइन्। पाँच निर्वाचन क्षेत्रबाट उनको नाम प्रत्यक्षमा सिफारिस भएको थियो। तर अन्तमा उनले समानुपातिक रोजिन्।
धनुषामा निर्वाचन हारेका विमलेन्द्र निधि पनि समानुपातिकमा बसेका छन्। गत निर्वाचनमा उनी राजेन्द्र महतोसँग पराजित भएका थिए। यस पटक गठबन्धनको बलमा महतोसँग बदला लिने तयारीमा रहेका उनी समानुपातिकमा बसेर सुरक्षित भएका छन्।
कांग्रेस नेता गोपालमान श्रेष्ठ र फर्मुल्लाह मन्सुर समेत समानुपातिकमा बसेका छन्।
असोज ३, २०७९ सोमबार १७:४५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।