प्रशिक्षक दीपक विष्टलाई प्रबल जनसेवाश्री, गौरीकालाई राष्ट्रद्वीप

प्रशिक्षक दीपक विष्टलाई प्रबल जनसेवाश्री, गौरीकालाई राष्ट्रद्वीप

काठमाडौँ : संविधान दिवसमा गृह मन्त्रालयले सार्वजनिक गरेको मानपदवी, अलङ्कार र पदक पाउने ९ सय ९८ मा खेलकुद क्षेत्रका २२ जनाको नाम छ।

गृह मन्त्रालयले सोमबार सार्वजनिक गरेको सूचीमा २२ जना खेलाडीले विभिन्न मानपदवी, अलङ्कार पदक पाएका छन्। अन्य क्षेत्रबाट मानपदवी, अलङ्कार पदक पाउनेहरूबारे नकारात्मक टिप्पणी हुने गरे पनि खेल क्षेत्रका लागि भने योगदानका आधारमा सम्मान भन्दै कम आलोचना हुने गरेको छ।

यस पटक सरकारले कीर्तिमानी तेक्वान्दो खेलाडी तथा प्रशिक्षक दीपक विष्टलाई प्रबल जनसेवाश्री पदक दिने भएको छ। पौडी खेलाडी गौरीका सिंहले राष्ट्रद्वीप पदक पाउने भएकी छिन्।

राष्ट्रिय महिला भलिबल टोलीका प्रशिक्षक जगदीश भट्ट र कप्तान अरुणा शाहीले जनसेवाश्री पदक पाउने भएका छन्। नेपाल ट्रायथोलन सङ्घका अध्यक्ष तथा नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ, नेपाल फेन्सिङ सङ्घका महासचिव तथा ओलम्पिक कमिटीका कार्यकारी सचिव सुजनलाल श्रेष्ठ, खेलकुद प्रवर्तक जगबहादुर खड्का, पाराओलिम्पियन तथा एसियन यूथ पारातेक्वान्दो च्याम्पियनसिपकी स्वर्ण विजेता पलेसा गोवर्द्धन, फुटबलकी प्रमुख प्रशिक्षक अरुणा गुरुङ, तेक्वान्दो खेलाडी भजिन्द्रबहादुर क्षेत्रीले प्रबल जनसेवाश्री पाउने भएका छन्।

ओलम्पियन प्रमीला रिजालले नेपाल प्रताप भूषण पाएकी छिन्। रेणुका श्रेष्ठ, दीपक महर्जन, प्रशान्तविक्रम मल्ल, श्याम गुरुङ, मोतीकला गुरुङ, शिवध्वज देवान राई, रञ्जित तामाङ, कल्पना परियार, जयरानी थारु, जीवन थारु र तिलकबहादुर देउजाको नाम सूकीर्ति पदकमा रहेको छ।

खेलकुद मन्त्रालयका सचिव डा दामोदर रेग्मीले सुप्रबल जनसेवा श्री पदक पाउने भएका छन्।

असोज ३, २०७९ सोमबार १५:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।