मान-पदवी-अलङ्कार पाउने पत्रकारमा भूषण दाहालदेखि बाला अधिकारीसम्म

काठमाडौँ : संविधान दिवस पारेर गृह मन्त्रालयले सार्वजनिक गरेको मानपदवी, अलङ्कार र पदक पाउने ९ सय ९८ जनाको सूचीमा सञ्चारकर्मीहरू समेत अटाएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले दिने मानपदवी-अलङ्कार अनि पदकको सूचीबारे हरेक वर्ष विवाद हुने गरेको छ। सूचीबारे यस पटक पनि आलोचना भइरहेको छ।
एमाले-माओवादी नेतृत्वको सरकारहुँदा मानपदवी पाउनेमा अधिकांश प्रेस चौतारी र माओवादी निकट पत्रकारहरु थिए। अहिले कांग्रेस-माओवादीसहित पाँच दलको नेतृत्वको सरकारले बाँडेको मानपदवी र अलंकारहरुमा कांग्रेस निकट प्रेस युनियनका नेता पत्रकारहरु हावी देखिन्छन्।
अन्य क्षेत्रमा जस्तै सञ्चार क्षेत्रबाट सम्मानित हुनेहरू अधिकांश योगदान भन्दा पार्टी निकटताको आधारमा दिएको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ।
सञ्चारकर्मी तारा भूषण दाहाल(भूषण दाहाल) ले सुप्रबल जनसेवाश्री पाएका छन्। जीवनप्रसाद पाण्डे, कृष्णप्रसाद बास्तोला, लक्ष्मीप्रसाद उपाध्याय र प्रकाशचन्द्र सुवेदीले प्रबल जनसेवाश्री पाएका छन्। यसै गरी सञ्चारकर्मीहरू सुरजसिंह ठकुरी, नारायणप्रसाद अधिकारी र फोटो पत्रकार हरि गोपाल प्रधानको नाम पनि प्रबल जनसेवाश्रीको सूचीमा छ।
शिवबहादुर पुरी, वैद्यनाथ झा, शेरबहादुर सिंह, विमला भण्डारी, दिलीप पौडेल, बाला अधिकारी, राजन कुइँकेल, विमल योगी, अजराज बम र दुर्गा अधिकारीले जनसेवाश्री पाउने भएका छन्। लोकमणि पौडेलले राष्ट्र यशोवद्र्धक पाएका छन्।
रोशनबहादुर खड्का, अभिशेख सोनी, चेतन पन्त, यमलाल भुसाल, गोपालकुमार झा, प्रकाश अधिकारी, टेकराज जोशी र उर्वशी बस्न्यातको नाम नेपाल सेवा प्रवीण पाउने सूचीमा छ। बद्री प्रसाद तिमल्सिनाले समाजसेवा रत्न पाउने भएका छन्।
असोज ३, २०७९ सोमबार १५:०९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।