सिन्धुपाल्चोकबाट बर्सेनी साढे दुई करोडको लप्सी बाहिरिँदै

सिन्धुपाल्चोकबाट बर्सेनी साढे दुई करोडको लप्सी बाहिरिँदै

काठमाडौं: केही वर्षयता सिन्धुपाल्चोकमा लप्सीजन्य व्यवसाय फस्टाउँदै गएको छ। जिल्लाको ठूलो सिरुबारी, ईर्खु, मार्मिङ, ठोकर्पा, कालिका, मेलम्ची, ज्यामिरे, शिखरपुर, कुञ्चोक र नवलपुरमा लप्सीजन्य वस्तु उत्पादनका घरेलु व्यवसाय सञ्चालन भइरहेका छन्।

यी उद्योगले क्याण्डी, अचार, तितौरा, झोलपाउँ, पातपाउँ, लप्सी पाउडर, मःम सुप, छोएला पाउँजस्ता वस्तु उत्पादन गर्दै आइरहेको सिन्धु विकास केन्द्र (सिडेक)का अध्यक्ष राजकुमार भण्डारी बताउँछन्।

जिल्लाको २७० हेक्टर जमीनमा दुई हजार एक सय मेट्रिक टन लप्सी साविकका ४७ गाविसबाट उत्पादन हुने गरेको छ। उत्पादित लप्सीमध्ये ६ लाख केजी जिल्लामा सञ्चालित उद्योगले नै प्रशोधन गरी विभिन्न किसिमका परिकार बनाउने गरेको उक्त केन्द्रको तथ्याङ्कमा उल्लेख छ। केन्द्रका अनुसार जिल्लाबाट प्रत्येक वर्ष रु दुई करोड ५२ लाखको लप्सी बाहिरिने गरेको छ।

जिल्लामा खपत हुन नसकेको लप्सी काभ्रेको साँगा भञ्ज्याङका साथै राजधानीका विभिन्न ठाउँमा बिक्री वितरण गरिँदै आएको सिडेकले जनाएको छ। विसं २०६५ देखि ईर्खुमा सिन्धु लप्सी उद्योग सञ्चालन गरिरहेका जीतबहादुर गिरीले वार्षिक तीन लाखको कारोबार गर्दै आएको बताएका छन्।

ठूलो सिरुवारीको सिन्धु लप्सी तथा अदुवा  प्रशोधन केन्द्रले वार्षिक आँठदेखि रु १० लाख बराबरको लप्सीजन्य परिकार उत्पादन गर्दै आइरहेको केन्द्रका सहयोगी देवीप्रसाद दुलाल बताउँछन्।

असोज ३, २०७९ सोमबार १४:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।