बाँकेको नरैनापुरमा भोकमरी, राहत माग्न गाउँपालिका कार्यालय आए पीडित स्थानीय

बाँकेको नरैनापुरमा भोकमरी, राहत माग्न गाउँपालिका कार्यालय आए पीडित स्थानीय
गाउँपालिका कार्यालयमा राहत माग्न आएका पीडितसँग पालिका अध्यक्ष ईश्तियाक अहमद शाह

बाँके: नरैनापुर गाउँपालिकामा भोकमरी सुरु भएपछि सर्वसाधारण नागरिकहरू राहत माग्न गाउँपालिका कार्यालय आउन थालेका छन्। सुख्खा खडेरीका कारण खेती गर्न नपाएको र घरमा राखिएको सबै खाद्यान्न सकिएको भन्दै राहत माग्न गाउँपालिका आएको पीडितहरूले बताएका छन्।

नरैनापुर गाउँपालिका वडा नम्बर ६ गंगापुर निवासी कृष्णावति मौर्यले सुख्खा खडेरीका कारण खेती गर्न नपाउँदा भोकमरी सुरु भएको बताइन्। ‘घरमा भएको अनाज सबै सकियो, खेतबारीमा बालीबोट छैन,’ उनले भनिन् ‘भोकमरीले छट्पटी सुरु भएपछि गाउँपालिका आएकी हुँ।’ 

गाउँपालिका पुगेर कृष्णावतिले अध्यक्ष ईश्तियाक अहमद शाहलाई भेटेर खाद्यान्न व्यवस्था मिलाइदिन अनुरोध गरेकी थिइन्।

यस्तै वडा नम्बर ४ की रीता कलवार पनि करिब ६ कठ्ठा जमीन बाँझै भएको र घरमा राखिएको खाद्यान्न सकिएकाले गाउँपालिका आएको बताउँछिन्।
‘भोकभरीले सताउन थालेपछि गाउँपालिका आएकी हुँ,’ रीताले भनिन्।

नरैनापुरमा यस वर्ष कुल खेतीयोग्य जमीनको करिब १५ प्रतिशतमा मात्र खेती भएको गाउँपालिकाको तथ्यांक छ। सुख्खा खडेरीका कारण खेती गर्न नपाउँदा अधिकांश किसानको खेतबारी बाँझै छन्। 

गाउँपालिकाले नरैनापुरलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गर्दै प्रदेश र संघीय सरकारसँग तत्काल राहत प्याकेज उपलब्ध गराउन र प्रत्येक वडामा ३/३ वटाका दरले डिप बोरिङको व्यवस्था गर्न माग गरेको थियो। 

गाउँपालिका अध्यक्ष शाहले यसअघि अर्थमन्त्री जनार्दन शर्मालाई नरैनापुरमै लगेर स्थलगत निरीक्षण पनि गराएका थिए। यसका साथै युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज, प्रदेश सांसद कृष्णा केसी लगायतले पनि स्थलगत निरीक्षण गरेका थिए।

गाउँपालिका अध्यक्ष शाहले खेती गर्न नपाएका अधिकांश किसानको घरमा भोकमरी सुरु भइसकेको बताए। ‘भोकमरीबाट पीडित किसानहरू अहिले ठूलो संख्यामा गाउँपालिका आउने गरेका छन्, मेरो घरमै पुगेर पनि उनीहरूले दुःख सुनाउँछन्,’ शाहले भने, ‘संघीय सरकारले अहिलेसम्म कुनै राहत घोषणा नगर्नु दुःखद् हो।’ 

संघीय सरकारका अर्थमन्त्री जनार्दन शर्मा र युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज स्वयंले स्थलगत निरीक्षण गरिसकेकाले सरकारबाट राहत कार्यक्रम घोषणा हुनेमा आशा जागेको उनले बताए। 

असोज ३, २०७९ सोमबार १३:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।