दशैंका लागि मुस्ताङबाट १२ हजार भेडा तथा च्याङ्ग्रा पोखरा ल्याइँदै

पोखरा: मुस्ताङबाट यस पटक १२ हजार भेडा तथा च्याङ्ग्रा पोखरा ल्याइने भएको छ। हिमाली जडीबुटी खाएर हुर्केका भेडा तथा च्याङ्ग्रा स्वास्थ्यको दृष्टिकोणले पनि उपयुक्त हुने विश्वासका कारण पोखरा र आसपासमा दशैंमा च्याङ्ग्राको माग बढ्दो हुने गरेको छ।
पोखरामा मुस्ताङका साथै छिमेकी राष्ट्र चीनबाट पनि भेडा च्याङ्ग्रा आउने गरेकोमा यस वर्ष कोराला नाका नखुलेका कारण त्यताबाट नआउने भएको छ। मुस्ताङसहित केही मात्रामा मुस्ताङ तथा डोल्पाबाट तथा भेडा च्याङ्ग्रा आउनसक्ने भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङका सूचना अधिकारी ऋषिराम पोखरेलले जानकारी दिए। उनका अनुसार यस वर्ष मुस्ताङबाट लगभग १२ हजार भेडा तथा च्याङ्ग्रा आउनसक्ने देखिएको छ।
पोखरामा घटस्थापनापछि क्रमशः भेडा च्याङ्ग्राको व्यापार हुने गरेको छ। भेडा तथा च्याङ्ग्रा उच्च हिमाली क्षेत्रमा बस्ने भएकाले पोखरा ल्याउँदा हिँडाएर झार्नुपर्ने हुन्छ।
मुस्ताङबाट पोखरासम्म हिँडाएर ल्याउनका लागि करिब चार दिन समय लाग्ने विगत केही वर्षयता भेडा तथा च्याङ्ग्राको व्यापार गर्दै आएका सन्दीप गुरुङले बताए। “हिमाली भेगबाट पहाडी भेगमा गाडीमा ल्याउँदा भेडा तथा च्याङ्ग्रामा चाँडै नै स्वासप्रश्वासमा समस्या आउने गर्दछ, त्यसैले हिँडाएर ल्याउँदा सुरक्षित पुर्याउन सकिन्छ”, उनले भने, “हिँडाउँदै, चराउँदै ल्याउँदा बाटोमा हराउनेजस्ता समस्या पनि नभएका भने होइनन्।”
हिमाली क्षेत्रमा जडीबुटी खाएर हुर्केको भेडा च्याङ्ग्रा मासु स्वादिष्ट र स्वास्थ्यका लागि पनि फलदायी हुने भएकाले पोखरामा बर्सेनि यसमो माग बढ्दो अवस्थामा रहेको गुरुङले बताए।
अघिल्लो वर्ष पोखरामा दशैंको समयमा रु ६४ करोडको भेडा च्याङ्ग्राको कारोबार भएको पोखरा महानगरपालिका पशु सेवा शाखाका प्रमुख नवराज अधिकारीले जानकारी दिए।
असोज ३, २०७९ सोमबार ०८:२१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।