चाडपर्वमा यात्रुलाई सहजरूपमा घर जान सडक मर्मत गरिने

चाडपर्वमा यात्रुलाई सहजरूपमा घर जान सडक मर्मत गरिने

काठमाडौं: चाडपर्वका समयमा यात्रुलाई सहजरूपमा घर जानका लागि बिग्रेका सडक मर्मतसम्भार गरिने भएको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तिहाक राईको अध्यक्षतामा आइतबार यातायात व्यवसायीसहित बसेको बैठकले चाडपर्वलाई मध्यनजर गर्दै सडकलाई मर्मतसम्भार गर्न सडक विभागलाई निर्देशन दिने निर्णय गरेको हो।

दशैं, तिहार छठलगायत चाडपर्वको अवसरमा यात्रुको आवतजावतको चापलाई मध्यनजर गर्दै बिग्रिएका सडक तथा राजमार्गलाई यथाशीघ्र मर्मतसम्भार गर्न सडक विभागलाई निर्देशन दिने निर्णय भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव डेकनाथ गौतमले बताए।

बैठकले महासङ्घले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पेश गरेका २१ बुँदे मागको विषयमा यातायात व्यवस्था विभागले अध्ययन, छलफल, परामर्श गरी मन्त्रालयमा राय, प्रतिक्रियासहितको प्रतिवेदन पेश गर्ने निर्णय समेत गरेको छ।

बैठकमा मन्त्री इस्तिहाक राईसहित मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, यातायात व्यवस्था विभागका महानिर्देशक टोकराज पाण्डे, मन्त्रालयका सहसचिवहरु, महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँर, महासङ्घका उपाध्यक्ष रवि रिमाल, महासङ्घका महासचिव गौतम, उपमहासचिव रजन रोक्कालगायतको उपस्थिति रहेको थियो।

असोज ३, २०७९ सोमबार ०७:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।