प्रदेश १ र मधेशमा भीषण वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं: मौसम पूर्वानुमान महाशाखाले प्रदेश १ र मधेश प्रदेशमा भीषण वर्षाको सम्भावना रहेको जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ।
यतिबेला कर्णाली र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो देशका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ र मधेश प्रदेशका एक-दुई स्थानमा भीषण वर्षाको पनि सम्भावना छ।
आज राति प्रदेश १ को थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक-दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
यस्तै प्रदेश १ र मधेशका एक-दुई स्थानमा भीषण वर्षा हुने भएकाले नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन/यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
असोज ३, २०७९ सोमबार ०७:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।