डा. केसीका प्रतिनिधि र सरकारबिच प्रारम्भिक वार्ता सोमबारसम्मलाई टुङ्गियो

काठमाडौँ : अनसनरत डा. गोविन्द केसीका प्रतिनिधि र सरकारी प्रतिनिधिबिच आइतबार भएको वार्ता प्रारम्भिक छलफलपछि सोमबार सरेको छ। डा. केसीले उठाएका मागका सवालमा छलफल भएको र सोमबार पुनः छलफल हुने गरी वार्ता टुङ्गिएको केसीका सहयोगी प्रितम सुवेदीले जानकारी दिए।
‘सबै मागहरूमा एक तहको छलफल भयो,’सुवेदीले भने,‘भोलि कुरा गर्ने गरी (वार्ता) टुङ्गिएको छ।’
स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले पनि भोलि सोमबार दिउँसो बस्ने गरी वार्ता टुङ्गिएको जानकारी दिए। डा. पोख्रेलले भने,‘भोलि एक बजे फेरी बस्ने भनिएको छ।’
त्यसै गरी केसीका तर्फबाट वार्ता टोलीमा सहभागी डा. जीवन क्षेत्रीले आइतबार भएको पहिलो वार्तामा विषयवस्तुमा प्रवेश मात्रै भएको र सोमबार सरकारी पक्षले तयारी गरेपछि पुनः वार्तामा बस्ने सहमति भएको जानकारी दिए।
सुवेदीका अनुसार सरकारकारतर्फबाट प्रधानमन्त्री कार्यालयका सचिव डा. रामप्रसाद घिमिरे, स्वास्थ्य सचिव डा. रोशन पोख्रेल, शिक्षा सचिव रामकृष्ण सुवेदी वार्तामा सहभागी थिए।
त्यसैगरी नेपाल चिकित्सक संघकातर्फबाट उपाध्यक्ष डा. अनिलविक्रम कार्की वार्तामा सहभागी थिए। डा. केसीको तर्फबाट डा. जीवन क्षेत्री, डा. लिजन महर्जन र प्रितम सुवेदीको सहभागिता थियो। डा. केसी सात बुँदे माग राख्दै भदौ २७ बाट धनगढीमा अनसनरत छन्। यो उनको २० औँ अनसन हो।
असोज २, २०७९ आइतबार १९:४९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।