
ओहदामा हुनेको कमाउनैपर्छ भन्ने मनोविज्ञानका कारण विकास भएनः मन्त्री चौधरी

काठमाडौंः शहरी विकास मन्त्री मेटमणि चौधरीले ओहोदामा हुनेहरूको गलत मनोविज्ञानका कारण विकास हुन नसकेको बताएका छन्।
पूर्वाधार विकास आयोजनाहरूको अनुगमन तथा कार्यान्वयन विषयक ६ दिने तालिममा सम्बोधन गर्दै मन्त्री चौधरीले ओहदामा रहँदा कमाउने मनोविज्ञान ल्याग्नुपर्ने बताए।
‘मन्त्री, नेता, इन्जिनियर, हाकिम जस्ता ओहदामा हुनेहरूको मनोविज्ञान नै घुस खानैपर्ने भएपछि विकास हुने कुरा भएन,’ उनले भने, ‘पदमा रहँदा कमाउनै पर्ने, पैसा जम्मा गर्नै पर्ने भएपछि न गुणस्तरको काम हुन्छ न समयमै योजना सकिन्छ, त्यसकारण यस्ता गलत मनोविज्ञान त्याग्नैपर्छ।’
तालिमले कार्य क्षमता अभिवृद्धि हुने भन्दै मन्त्री चौधरीले उच्च आत्मबल, उच्च नैतिकता र उच्च इमानदारिताका साथ काम गर्न इन्जिनियरहरूलाई निर्देशन दिए।
शहरी विकास मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंहले कर्मचारीले सकभर कामै नगर्ने, फाइल नपल्टाउने, पुराना फाइल हेर्ने, अल्झाउने र समयमा निर्णय पनि नगर्ने गरेकै कारण जनतामा गुनासो बढेकाले विकासका काम गर्दा जनतालाई केन्द्रमा राखेर छिटो निर्णय गर्न निर्देशन दिए।
असोज २, २०७९ आइतबार १३:५१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।