धारा १०१ र १११ को गाँठोमा अल्झिएका चोलेन्द्र

धारा १०१ र १११ को गाँठोमा अल्झिएका चोलेन्द्र

काठमाडौंः सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले शनिबार बेलुका अदालतका कर्मचारीलाई आफू अदालत फर्कने जानकारी गराए।

अदालतमा उनी फर्कने खबर आउनेबित्तिकै त्यो खबर राति नै बार पदाधिकारी, प्रशासन र मिडियासम्म फैलियो। खबर फैलिएसँगै बार एशाेसिएशनका पदाधिकारी र सर्वाेच्चकै कर्मचारी उनलाई राेक्ने प्रयासमा लागे। अन्तत उनीहरू सफल पनि भए।

आइतबार ११ बजे सर्वोच्च जान लागेका प्रधानन्यायाधीशको निवासको गेटमा सरकारले ताल्चा लगायो र उनलाई सर्वोच्च जान रोक्यो। यसलाई राणाले नजरबन्दको संज्ञा दिएका छन्। उनले संविधानको धारा १११ को उपधारा (१०) अनुसार महाभियोग निष्क्रिय भइसकेको बताउँदै सर्वोच्चमा फर्कन लागेको बताएका छन्।

उक्त उपधारामा ‘कुनै विधेयक प्रतिनिधि सभामा प्रस्तुत भई विचाराधीन रहेको वा प्रतिनिधि सभामा पारित भई राष्ट्रिय सभामा विचाराधीन रहेको अवस्थामा प्रतिनिधि सभा विघटन भएमा वा त्यसको कार्यकाल समाप्त भएमा यस्तो विधेयक निष्क्रिय हुनेछ’ उल्लेख छ।

राणाले संविधानको सोही व्यवस्थालाई देखाउँदै महाभियोग निष्क्रिय भएको बताएका हुन्। असोज १ गते राति प्रतिनिधि सभाको कार्यकाल सकिएसँगै उनी आइतबार सर्वोच्च फर्कन लागेका हुन्।

तर, संघीय संसदले २०७८ फागुन १ गते काटेको पत्रमा संविधानको धारा १०१ को उपधारा (६) र प्रतिनिधि सभा नियमावली, २०७६ को नियम १६१ को उपनियम (९)को व्यवस्था अनुसार राणा पुनः कार्यमा फर्कन नपाउने उल्लेख छ।

संविधानको धारा १०१ को उपधारा (६)मा महाभियोगको कारबाही प्रारभ्भ भएपछि नेपालको प्रधानन्यायाधीशले त्यस्तो कारबाही टुंगो नलागेसम्म आफ्नो पदको कार्यसम्पादन गर्न पाउने छैन भन्ने उल्लेख छ।

यस्तै प्रतिनिधि सभा नियमावली, २०७६ को नियम १६१ को उपनियम (९) मा महाभियोग कार्य प्रारम्भ भएपछि आरोपित नेपालको प्रधानन्यायाधीशले त्यस्तो कारबाहीको टुंगो नलागेसम्म आफ्नो पदको कार्य सम्पादन गर्न पाउने छैन भन्ने व्यवस्था छ।

उक्त पत्रमा महभियोग कारबाहीको टुंगो नलागेसम्म निजले आफ्नो पदको कार्यसम्पादन गर्न नपाउने व्यहोरा जानकारी गराइएको छ। यो पत्र राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संवैधानकि परिषद्को कार्यालय, सर्वोच्च अदालत, न्याय परिषद् र स्वयं चोलेन्द्र शम्शेर जबरालाई दिएको थियो।

यस्ताे  थियाे फागुन १ गतेकाे पत्र:

असोज २, २०७९ आइतबार १२:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।