बेलायती महारानी एलिजाबेथको अन्त्यष्टीमा अन्य देशबाट राष्ट्रप्रमुख जाँदा नेपालबाट मन्त्री जाने
काठमाडौँ : बेलायती महारानी एलिजाबेथ द्वितीयको अन्तयष्टी सेप्टेम्बर १९ सोमबार हुँदैछ। उनको अन्त्यष्टीमा राजपरिवारका सदस्यसँगै विश्वभरका नेताहरू सहभागी हुँदैछन्।
यो अन्त्यष्टीमा विश्वभरबाट उच्चतहका पदाधिकारी सहभागी हुँदैछन्। तर नेपालबाट भने परराष्ट्र मन्त्री नारायण खड्का सहभागी हुँदैछन्।
बेलायत सरकारले राष्ट्राध्यक्षसहित विभिन्न देशका ५ सय जना अति विशिष्ट अतिथिहरूलाई निमन्त्रणा पठाइसकेको बिबिसीले जनाएको छ। वेष्टमिनिष्टर ऐवेमा हुने अन्तिम संस्कारमा २ हजार २ सय जना अट्न सक्छन्।
भारतबाट राष्ट्पती द्रौपदी मुर्मु बेलायत जाँदैछिन्। बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना, श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिंघे अन्त्यष्टीमा सहभागी हुने बताइएको छ।
अन्त्यष्टीमा बेलायतको राजपरिवारमा सदस्यहरू सहभागी हुने छन् नै। राजा चार्ल्स, रानी कन्साट कैमिला, एन, एड्रयु र एडवर्ड लगायतका सहभागी रहनेछन्।
एलिजाबेथको नाति-नातिना युवराज प्रिन्स र हैरी, युवराज्ञी बीट्रिस र युजिना, जारा टिंडल, पिटर फिलिप्स लगायत सहभागी हुनेछन्।
अन्त्यष्टीमा युरोपको राजपरिवारका सदस्यहरू समेत सहभागी हुने बताइएको छ।
बेल्जियमका राजा फिलिप र रानी मथिल्डो, राजा विलेम अलेक्जेन्डर र रानी मैक्सिमा र पूर्व डच रानी बिट्रिक्स पनि अन्त्येष्टिमा सहभागी हुने बिबिसीको समाचारमा उल्लेख छ।
स्पेनका राजा फेलिपे र रानी लेटिजिया, नर्वे, स्विडेन र डेनमार्कका राजपरिवारका सदस्यहरू समेत अन्त्येष्टिमा सहभागी हुनेछन्।
अमेरिकी राष्ट्रपति जो बाडडेनले आफू एलिजाबेथको अन्त्यष्टीमा सहभागी हुने बताइसकेका छन्। अस्ट्रेलियाका प्रधानमन्त्री एन्थनी एल्बनीज, न्युजिल्याण्डका प्रधानमन्त्री जेसिन्डा र क्यानडा प्रधानमन्त्री जस्टिन ट्रुडे लगायत जर्मन, इटली, दक्षिण कोरिया, टर्की, फ्रान्स लगायतका देशका राष्ट्राध्यक्ष समेत अन्त्यष्टीमा सहभागी हुने भएका छन्।
अन्त्यष्टीमा रुस, बेलारुस र म्यानमारका कसैलाई निमन्त्रणा गरिएको छैन।
असोज १, २०७९ शनिबार २२:४२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।