संसद्मा छुट्टिँदा पनि प्रमुख नेतामा देखिएन हार्दिकता, एक अर्कालाई हिलो छ्यापेर बिदा भए

काठमाडौं : २०७४ मा निर्वाचित प्रतिनिधि सभाको अन्तिम दिन प्रमुख दलका शीर्ष नेताहरूले सम्बोधन गरे। यो बिचमा यी दलका नेताहरूबीच कहिले तिता त कहिले मिठा सहकार्य नभएका हैनन्।
छुट्टिँदा आफ्नो कमजोरीको समीक्षा गर्दै नयाँ संसद्मा ती कमजोरी नदोहोर्याउने भन्दै हार्दिकता देखाउनुको साटो एक अर्कालाई छेडखानी र आफूले गरेको गलत कामको बचाऊँ गरेर बिदा भए नेताहरू।त्त
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा हुन् या प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओली अनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नै किन नहुन्। कसैले पनि कमजोरीको समीक्षा गरेनन्। घोचपेचमै समय बिताए।
जसरी एमालेले अहिलेको सरकारलाई परमादेशी भन्छ त्यसैगरी सत्ताधारी घटकमा रहेको एमाले र एकीकृत समाजवादीले एमालेले दुई पटक संसद् विघटन गर्न गरेको प्रयासलाई प्रतिगमन भन्ने गरेका छन्।
दुवै मोर्चाका नेतालाई यी दुवै शब्द त्यति प्रिय देखिँदैन। तर, शनिबार बसेको संसद्मा दुवै मोर्चाका नेताले यी शब्द उच्चारण गरेर घोचपेच गर्न छाडेनन्।
देउवाले परमादेशको आधारमा सरकार आएकाले सहकार्य सम्भव भएको र सँगै बसेर धेरै विधेयकहरू पारित गरेको भन्दै एमालेलाई व्यङ्ग्य गरेका थिए। उनले ओलीले आफ्नो नेतृत्त्वको सरकारलाई परमादेशी भन्ने गरेको भन्दै संसद्मा भने, ‘परमादेश नभएको भए उहाँ र हामी सँग-सँगै काम गर्न नै पाउँदैनथ्यौं, ठूला-ठूला विधेयकहरू पास गर्न नै पाउँदैनथ्यौ।’
देउवापछि बोल्ने पालो पाएका एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद् चल्न नसकेपछि ताजा जनादेशमा जान संसद् विघटन गर्दा प्रतिगमन भनेको भन्दै आक्रोशित देखिए।
दुई पटक संसद् विघटन गर्ने आफ्नो असफल प्रयासको बचाउ गर्दै अहिलेको सरकारले भने निर्वाचन घोषणा गरेको भन्दै प्रश्न गरे, 'ताजा जनादेश माग्न जानु भनेको प्रतिगमन हो भने अहिलेको सरकारले गरेको पनि प्रतिगमन हो?'
उनले बरु परमादेशबाट सरकार गठन गर्नु प्रतिगमन भएको भन्दै परमादेशबाट नक्कली सरकार गठन भएको भन्दै निर्वाचन जानु प्रतिगमन नभएको दाबी गरे। उनले आफूले घोषणा गरेको चुनाव भएको भए नयाँ संसद् आइसक्ने दाबी गरेका थिए।
'हामी निर्वाचनतर्फ जाँदैछौं। म यसलाई प्रतिगमन मान्दिन। परमादेशबाट नक्कली सरकार गठन गर्नु प्रतिगमन हो’, उनले भने।
उनले कसको सरकार कस्तो भनेर मंसिर ४ गते जनताले जवाफ दिने बताएका थिए।
पालो आयो माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको। उनले ओलीको सम्बोधनको खण्डनमै समय बिताए। ओलीले लोकतन्त्र र प्रतिगमनको अपव्याख्या गरेको दाबी गर्दै उनले संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर ओलीले प्रतिनिधिसभा विघटन गरेकाले प्रतिगमन भएको दाबी गरे।
उनले ‘तुलना गर्नुको पनि एउटा हद हुन्छ नि!' भन्दै आफूहरूले निर्वाचन घोषणा गर्नुलाई नभई संविधानले नदिएको अधिकार प्रयोग गरेर प्रतिनिधिसभा विघटन गरेर मुलुकलाई अँध्यारो सुरुङतिर लैजान खोज्नुलाई प्रतिगमन भनेको प्रचण्डले दाबी गरे।
प्रचण्डले राष्ट्रियसभा निर्वाचन, बारको निर्वाचन अनि स्थानीय तहको निर्वाचनले सन्देश दिइसकेको भन्दै ओलीको भनाइको प्रतिवाद गरेका थिए।
असोज १, २०७९ शनिबार १६:५५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।