खोटाङमा १८ घण्टापछि सकुशल भेटिइन् हराएकी २२ महिने बालिका

खोटाङमा १८ घण्टापछि सकुशल भेटिइन् हराएकी २२ महिने बालिका

काठमाडौंः खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलास्थित खाम्लाकी २२ महिनाकी बालिका स्नेहा राई झाडीभित्र सकुशल भेटिएकी छन्।

घरमा कोही नभएको समयमा शुक्रबार दिउँसो २ः३० बजे हराएकी स्नेहा शनिबार बिहान ८ः३० बजे घरदेखि करिब साढे दुई किलोमिटर तल झाडीभित्र एक्लै भेटिएकी हुन्।

राम्रो बोल्न र हिँड्नसमेत नसक्ने स्नेहा घाँस काट्न गएकी स्थानीय मिनकला राईले झाडीभित्र एक्ली बसिरहेको अवस्था सकुशल फेला पारेको निवर्तमान वडाध्यक्ष भीम राईले जानकारी दिए।

घाँस काट्न जानेक्रममा वनमारा झाडीभित्र बच्चा रोएको आवाज सुनेपछि हेर्न जाँदा स्नेहालाई भेटेको मिनकलाले बताइन्।

बुबा उमेश छिमेकीकामा पितृकार्य तथा आमा प्रिती राई ठूली छोरीलाई विद्यालय लिएर गएको समयमा स्नेहा हराएको पारिवारिक स्रोतले जनाएको छ।

असोज १, २०७९ शनिबार १४:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।