पश्चिम सुर्खेतका बस्तीमा बाढी, दर्जनौँ घरहरूमा क्षति

सुर्खेत: शुक्रबारदेखि परेको अविरल वर्षाका कारण आएको बाढीले सुर्खेतकाे पश्चिम क्षेत्रका धेरै ठाउँमा क्षति पुर्याएको छ। जिल्लाको पञ्चपुरी नगरपालिका, बराहताल र चाैकुने गाउँपालिकाका धेरै स्थानका बस्तीमा बाढी पसेको हो।
चौकुने गाउँपलिका–८ भाम्लेमा आएको बाढीले १२ वटा घरहरूमा क्षति पुर्याएको छ भने एउटा भैंसी पुरिएको छ। चौकुनेकै वडा नम्बर ९ रागमा विद्यापुर खोलाबाट आएको बाढी बस्तीमा पस्दा घर डुबानमा परेको गाउँपालिकाका अध्यक्ष खड्क विकले जानकारी दिए।
उनका अनुसार उक्त स्थानमा करिब १० वटा घरहरूमा क्षति पुगेको छ। वडा नम्बर २, ३,४ र १० का केही बस्तीहरूमा बाढी र पहिराेले क्षति पुर्याएकाे छ।
चौकुने- २ मा एउटा, वडा नम्बर ४ मा दुई वटा घरमा क्षति भएकाे छ। ३ नम्बर वडाको गोभ्रामा आएको पहिरोले ७ वटा घर उच्च जोखिममा रहेका छन् भने बेतान खोलबाट आएको बाढीले तीन सय रोपनी खेत बगरमा परिणत भएको छ। यस्तै, चौकुने- १० घाटगाउँमा आएको बाढीले पनि दर्जनौँ घरहरूमा क्षति पुर्याएकाे छ।
गाउँपालिका अध्यक्ष विकले बाढीमा परेर हालसम्म कुनै मानवीय क्षति नभएको जानकारी दिए। उनले बाढीबाट प्रभावित स्थानीयहरूलाई उद्धार गरेर सुरक्षित स्थानमा सार्ने र पाल तथा खाद्यान्नको व्यवस्थापन गरिरहेको र पीडितहरूलाई थप आवश्यकता अनुसारको राहत वितरण गर्ने तयारी रहेको बताए।
साथै बाढी र पहिरोले पश्चिमका सडकहरू समेत अवरुद्ध गरेको छ।
असोज १, २०७९ शनिबार १४:११:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।