अछाम पहिरो: मृत्यु हुनेको सङ्ख्या १७ पुग्यो, ६ जना बेपत्ता

अछाम पहिरो: मृत्यु हुनेको सङ्ख्या १७ पुग्यो, ६ जना बेपत्ता

काठमाडौं: लगातारको वर्षासँगै आएको पहिरोका कारण अछाममा हालसम्म १७ जनाको ज्यान गएको छ। अछामका निमित्त प्रमुख जिल्ला अधिकारी दीपेश रिजालका अनुसार जिल्लाका विभिन्न पालिकामा आज बिहानदेखि गएको पहिरोमा परी हालसम्म १७ जनाको मृत्यु भएको हो।

यस्तै हालसम्म ६ जना बेपत्ता छन्। उनका अनुसार घाइते ११ जनाको उद्धार गरी नेपाली सेनाको हेलिकप्टरमा उपचारका लागि सुर्खेत जिल्ला अस्पताल लगिएको छ।

हालसम्म तुर्माखाँद गाउँपालिका–५ मा चार, कमलबजार नगरपालिका–६ मा सात र वडा नं ८ मा पाँच जनाको शव भेटिएको छ। प्रशासन कार्यालयका अनुसार उक्त वडामा तीन जना पहिरोमा परी बेपत्ता छन्। निमित्त प्रजिअ रिजालका अनुसार ढकारी गाउँपालिका–६ मा एक जनाको शव भेटिएको छ भने एक बेपत्ता छन्।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भोलाबहादुर रावलले पहिरोमा परी मृत्यु भएकाको शव व्यवस्थापनदेखि घाइतेको उद्धार र बेपत्ताको खोजीमा प्रहरी परिचालन गरिएको बताए। “यकिन विवरण आइसकेको छैन। मृतकको सङ्ख्या बढ्नसक्छ”, उनले भने, “अछामका धेरै ठाउँमा पहिरो गएको खबर छ।”

त्यस्तै सुदूरपश्चिमको सात पहाडी जिल्ला जोड्ने भीमदत्त मार्ग अवरुद्ध भएको छ। अछाममा सञ्चार सेवासमेत अवरुद्ध छ।

लगातारको वर्षाका कारण कैलाली र कञ्चनपुर सयौँ परिवार डुबानका कारण विस्थापित भएका छन्। वर्षापछि कञ्चनपुरको मछेली, बनहरा र दोदा नदीको बाढी बस्तीमा पसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामसिंह चौधरीले जानकारी दिए।

जिल्लाको वनहरा शिविर, कृष्णपुर नगरपालिकाको तटीय क्षेत्रका वडाहरु, लालझाडी गाउँपालिका–३, शुक्लाफाँटा नगरपालिका–१२, बेलौरी नगरपालिका–५ लगायतमा बाढी घरमा पसेको र डुबान भएको छ।

प्रहरी उपरीक्षक चौधरीका अनुसार अहिले डुबान परेका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ। “केही जङ्गलमा बसेका छन् भने कतिपय आफन्तकहाँ आश्रय लिएर बसेका छन्”, उनले भने, “बाढीले शुक्लाफाँटा–१२ दुवाहमा झोलुङ्गे पुल समेत बगाएको छ।”

दार्चुलाका दुई पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न माग

पहाडी जिल्ला दार्चुलामा गत भदौ २४ गते वर्षासँगै पहिरोबाट क्षतविक्षत भएका महाकाली नगरपालिका र नौगाड गाउँपालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न माग गरिएको छ। जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले यी दुई पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न स्थानीयले माग गरेको प्रजिअ दीर्घराज उपाध्यायले बताए।

वर्षाका कारण महाकाली र नौगाडमा ठूलो धनजनको क्षति भएको थियो। विपद् व्यवस्थापन समितिले मानवीय क्षति तथा भौतिक क्षतिको विवरण गृह मन्त्रालय, सुदूरपश्चिम प्रदेश र सङ्घीय सरकारलाई पठाइएको नौगाडका अध्यक्ष दलजीतसिंह धामीले बताए।

बाढीपहिरोमा परी दार्चुलामा पाँच जनाको मृत्यु भएको थियो भने १० जना बेपत्ता छन्।

असोज १, २०७९ शनिबार १३:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।