लोकतन्त्र, राष्ट्रियता र विकासको अभियानले हार्न हुँदैन: केपी ओली

लोकतन्त्र, राष्ट्रियता र विकासको अभियानले हार्न हुँदैन: केपी ओली

काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली जनता, लोकतन्त्र, राष्ट्रियता र विकासको अभियानले हार्न नहुने बताएका छन्। संविधान दिवसका अवसरमा एमालेले आज आयोजना गरेको पदयात्रा (वाकथन) मा उनले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा देश, जनता, लोकतन्त्र, संविधान, भ्रष्टाचार विरोधी अभियान, सुशासनको प्रयास र विकासको अभियानलाई हार्न नदिने बताए।

उनले संविधान जारी गरेपछि सामाजिक, राजनीतिक, आर्थिक, सांस्कृतिक क्षेत्रमा असाधारण प्रगति हासिल गरेको बताए। संविधान दिवसलाई जनताको दिवसका रूपमा मनाउनुपर्ने भन्दै लोकतन्त्र, राष्ट्रियता, राष्ट्रिय अखण्डताको पक्षमा एमालेले देशलाई अगाडि बढाउने पनि उनले बताए।

सङ्घर्ष र बलिदानबाट लामो यात्रा पार गरेर संविधान कार्यान्वयन भइरहेको उल्लेख गर्दै उनले नेपालमा साम्प्रदायिक विद्वेष फैलाउने प्रयास गरिएको आरोप लगाए। “नेपालमा साम्प्रदायिक विद्वेष भड्काउने प्रयास भए। नेपाललाई द्वन्द्वमा फसाउने कुचेष्टा, लोकतान्त्रिक बाटोमा जान नदिने चेष्टालाई हामीले पराजित गरेर देशलाई लोकतन्त्रको बाटोमा अगाडि बढाएका छौँ”, उनले भने।

सो पदयात्रा बानेश्वर, मैतिदेवी, लैनचौर, कालीमाटी र ललितपुरको कुपण्डोलबाट निस्केको थियो। पदयात्रामा एमाले अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शङ्कर पोखरेललगायत शीर्ष नेताको सहभागी रहेको थियो।

असोज १, २०७९ शनिबार १३:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।