अछाम पहिरो: घाइतेको उद्धार र बेपत्ताको खोजीमा जुट्न गृहमन्त्री खाँणको निर्देशन

अछाम पहिरो: घाइतेको उद्धार र बेपत्ताको खोजीमा जुट्न गृहमन्त्री खाँणको निर्देशन

काठमाडौं: गृहमन्त्री बालकृष्ण खाँणले अछामका विभिन्न स्थानमा आएको बाढी र पहिरोमा परी घाइते तथा प्रभावितको उद्धार तथा बेपत्ताको खोजीमा जुट्न निर्देशन दिएका छन्। उनले घाइतेको उद्वारमा तत्काल हेलिकप्टर पठाउन गृह प्रशासनलाई निर्देशन पनि दिएका छन्।

गृहसचिव टेकनारायण पाण्डे, सुरक्षा तथा समन्वय महाशाखा प्रमुख फणिन्द्रमणि पोखरेल र विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख प्रदीप कोइरालालाई घाइते तथा प्रभावितको उद्धारका लागि तत्काल हेलिकप्टरको व्यवस्था गर्न उनले निर्देशन दिएका हुन्।

यस्तै अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनी र जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायण डाँगीलाई टेलिफोन गरेर घटनाबारे मन्त्री खाँणले आज जानकारी समेत लिएका छन्।

अछामको कमलबजार नगरपालिका तथा ढकारी र तुर्माखाँद गाउँपालिकामा विपद्मा परेर नौ जनाको मृत्यु भएको र २० जना घाइते भएको जानाकारी आएको गृहमन्त्रीको सचिवालयले जनाएको छ। प्रजिअ मरासिनीका अनुसार कमलबजार नगरपालिका–६ को ठाँटीघाटमा गएको पहिरामा परी चार जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।

त्यस्तै कमलबजारकै वडा नं ८ मा चाउरे दमाइँको घर पुरिँदा परिवारका पाँच जनाको मृत्यु भएको जानकारी आएको छ। 

ढकारी गाउँपालिकामा एक घर पुरिएर तीन घाइते भएको र एक जना बेपत्ता रहेका छन्। तुर्माखाद गाउँपालिकामा पनि नौ जना बेपत्ता भएको जानकारी आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

अहिले पनि वर्षा निरन्तर भइरहेकाले उद्धारमा कठिन भइरहेको प्रजिअ मरासिनीले बताए।

असोज १, २०७९ शनिबार १२:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।