र्यालीका कारण आज काठमाडौंको ट्राफिक प्रभावित हुने

काठमाडौं: आज काठमाडौंभित्रको ट्राफिक प्रभावित हुने भएको छ। संविधान दिवसको पूर्व अवसरमा विभिन्न स्थानबाट निस्केको र्याली वसन्तपुर जाने कार्यक्रम रहेका कारण माइतीघर, भद्रकाली र रत्नपार्क आसपासमा चल्ने सवारी साधन प्रभावित भएका छन्।
बबरमहल–बानेश्वर सर्भिस लेनमा चल्ने सवारी साधनलाई मुख्य सडकबाट सञ्चालन गरिएको छ। बानेश्वरस्थित एभरेष्ट होटलअगाडि सर्भिस लेन सडकमा स्टेज निर्माण गरिएका कारण सवारी साधनलाई मुख्य सडकबाट सञ्चालन गरिएको हो।
सेतोपुल–रातोपुल कोरिडोर सञ्चालन हुने सवारी साधन पनि प्रभावित भएका छन्। खानेपानी तथा ढल मर्मतको काम भइरहेकाले सडक बन्द हुँदा सवारी आवागमन प्रभावित भएको हो।
जडीबुटी पुल मर्मतको काम भइरहेका कारण उक्त स्थानमा सवारी साधनलाई एक लेनमा चलाइएको छ। यसबाहेक काठमाडौं उपत्यकाको अन्य स्थान तथा नाकाहरूको सवारी आवागमन सामान्य रहेको छ।
असोज १, २०७९ शनिबार ०८:४९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।