सूर्याेदय नगरपालिकामा ५० करोडका आयोजना, नेता खनाल र मन्त्री चौधरीले गरे शिलान्यास

इलाम: विभिन्न एकीकृत शहरी पूर्वाधार निर्माण कार्यक्रमअन्तर्गत इलामको सूर्याेदय नगरपालिकामा ५० करोडका कार्यक्रम शिलान्यास भएका छन्। पूर्वप्रधानमन्त्री झलनाथ खनाल र शहरी विकासमन्त्री मेटमणि चौधरीले ६ महत्त्वपूर्ण सडक शिलान्यास गरेका हुन्।
शहरी पूर्वाधार कार्यक्रमअन्तर्गत फिक्कल रिङरोड, हुरहुरे भञ्ज्याङ–ग्यावाचोक, छब्बीसे–छिरुवा सडक, रातमाटे–माने डाँडा सडक, माने भञ्ज्याङ–च्यामेखोला गोर्खे सडक शिलान्यास गरिएको छ। आयआर्जनजन्य पूर्वाधारतर्फ नगर बसपार्क, चिस्यान केन्द्र, कन्याम पार्क, पोखरी संरक्षणदेखि पोखरी सौन्दर्यकरणसम्म शिलान्यास भएका छन्।
कार्यक्रममा पूर्वप्रधानमन्त्री खनालले सूर्याेदय नगरपालिकालाई सुन्दर, आधुनिक र नमूना बनाउने बताए। इलाम हिरा भएको यद्यपि कुँद्न बाँकी रहेको भन्दै खनालले भने, ‘रिङरोडको विकास, सन्दकपुरको थप विकास, श्री अन्तु डाँडाको सुन्दरतमा वृद्धि, होम स्टे, चिया बगान, यसको सौन्दर्यको अन्तर्राष्ट्रियकरण गरिने छ। व्यापार, बिजनेस थप बढ्ने छ।’
शिलान्यासकै क्रममा शहरी विकासमन्त्री चौधरीले झलनाथ खनाल जस्तो व्यक्तित्व भएको, पर्यटन र उत्पादनमा चिनिएको सुन्दर इलामलाई थप सुन्दर, व्यवस्थित बनाउन शहरी मन्त्रालयले कुनै कसर बाँकी नराख्ने बताए।
चाधरीले भने, ‘यहाँका जनताले चाहे जस्तो विकसित शहर बनाउन पहल हुनेछ। सुन्दर चिया बगान देख्दा निकै आनन्द लागेको छ। इलामको विकासमा पैसाको कमी हुने छैन।’
सूर्याेदय नगरपालिकाका मेयर रणबहादुर राईले इलामको विकासका लागि खनाल र चौधरीले गरेको प्रयासको प्रशंसा गरे।
शहरी विकास मन्त्रालयका उपमहानिर्देशक नारायण भण्डारीले एकीकृत शहरी विकास कार्यक्रमले इलामका जनतालाई थप उन्नत बनाउने धारणा राखेका थिए।
सघन शहरी तथा भवन निर्माण विभाग झापाका आयोजना प्रमुख सुदीप पौडेलले शहरीकरणसँगै आयआर्जनमा पनि सुधार हुनुका साथै सबै आयोजना समयमै सकिने बताए।
असोज १, २०७९ शनिबार ०८:१७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।