शनिबारबाट अग्रिम टिकट बुकिङ खुला

शनिबारबाट अग्रिम टिकट बुकिङ खुला

काठमाडौंः सरकारले दशैं, तिहार तथा छठ पर्व मनाउन घर जाने यात्रुका लागि शनिबारदेखि सार्वजनिक यातायातमा अग्रिम टिकट बुकिङ खुला गर्न लागेको छ।

भदौ २२ गते यातायात व्यवस्था विभागमा बसेको बैठकले असोज १ गतेदेखि लामो तथा मध्यम दूरीमा अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णयअनुसार शनिबारदेखि अग्रिम टिकट बुकिङ खुला गर्न लागेको हो।

बैठकले यातायात व्यवसायीले अग्रिम टिकट बुकिङ गर्दा यथाशक्य अनलाइन बुकिङ गर्ने व्यवस्था मिलाउने, अनलाइन टिकट बुकिङ गर्ने यात्रुलाई यातायात व्यवसायीले यथाशक्य छुट वा सहुलियतसमेत प्रदान गर्ने निर्णय गरेको थियो।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले शनिबार बिहानदेखि लामो तथा मध्यम दूरीको बसको टिकट खुल्ने जानकारी दिए।

यातायात आवागमन सहज बनाउन खाद्यान्नलगायत अत्यावश्यक वस्तुको ढुवानी गर्ने बाहेकका ट्रेलर लगायतका ठूला सवारीसाधन आगामी असोज १५ देखि २२ गतेसम्म नारायणघाटदेखि काठमाडौंसम्म सञ्चालन गर्न रोक लगाउने निर्णय बैठकले गरेको थियो।

भदौ ३१, २०७९ शुक्रबार २१:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।