चोलेन्द्रको अधुरो सम्पत्ति विवरण, बचत ५९ लाख, जग्गा आठ करोड, ऋण ९ करोड ५० लाख

काठमाडौँ : न्यायपरिषद्ले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको आंशिक सम्पत्ति विवरण पठाएको छ। परिषद्ले संसद्को महाभियोग सिफारिस समितिलाई बुझाएको प्रतिवेदनमा बचत, जग्गा र ऋण उल्लेख छ। अन्य साबिक भनिए पनि पुरानो विवरण छैन।
न्याय परिषद्ले २०७८ साउनसम्म जबराको नाममा बैङ्क अफ काठमाडौँमा ५९ लाख २६ हजार रुपैयाँ नगद उल्लेख रहेको छ। सो रकम पारिश्रमिक, भत्ता, सञ्चय कोषको रकम र ब्याज भएको उल्लेख छ।
सगोलमा श्रीमती, छोरा, छोरी र नातिनी सहित पाँच जना रहेको उल्लेख गरिएको विवरणमा सुन, गहना, हिरा, जवाहरात गत सालको विवरण नबदलिएको उल्लेख छ।
सेयर, बचत पत्र अनि ऋण पत्र, सवारी र घरको विवरण पनि गत वर्ष समान रहेको उल्लेख छ।
श्रीमती रेजी क्षेत्री राणाको नाममा काठमाडौँको वडा नम्बर ५ मा १ रोपनी ८ आना ३ पैसा १ दाम जमिन रहेको उल्लेख छ। सो जग्गा २०७७ मा ८ करोड २६ लाख रुपैयाँमा किनेको उल्लेख छ। पुरानो घरसमेत रहेको जग्गाको किन्ने स्रोत उल्लेख छैन।
त्यस्तै ठमेलको घरजग्गा धितोमा राखी ९ करोड ५०लाख ऋण लिएको विवरणमा उल्लेख छ। पहिला होटेल लेखिएकोमा काटेर घर/जग्गा उल्लेख छ। ठमेलको घर जग्गा यस अगाडि नै विवादमा आएको सम्पत्ति हो।
भदौ ३१, २०७९ शुक्रबार २०:१९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।